वीरगंज स्थित कञ्चनजंघा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न भएको छ। असल शिक्षकले आशा जगाउँछन्, कल्पना शक्तिलाई प्रेरित गर्छन् र सिकाइप्रतिको प्रेम विकास गराउँछन्।भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौगाईले शिक्षक राष्ट्र निर्माणका वास्तविक शिल्पी भएको उल्लेख गर्दै शिक्षाले नै सभ्य, सक्षम र समृद्ध समाज निर्माण गर्ने आधार तयार गर्ने बताउनुभयो। उहाँले विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, नैतिकता तथा जीवनमा सफलता हासिल गराउन शिक्षकको भूमिका अतुलनीय रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले विद्यालय केवल पठनपाठन गर्ने थलो मात्र नभई असल नागरिक उत्पादन गर्ने पवित्र संस्था भएको उल्लेख गर्दै विद्यार्थीलाई सिर्जनशील, अनुशासित र जिम्मेवार बनाउन शिक्षक, अभिभावक र विद्यालयबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, शिक्षकप्रतिको सम्मान र कृतज्ञता समाजले सदैव उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। उनीहरूको आकर्षक प्रस्तुतिले उपस्थित अतिथि, अभिभावक तथा दर्शकको मन जितेको विद्यालयले जनाएको छ।
विद्यालयका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवराज खडका, मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका वक्ताहरूले शिक्षक सम्मान, विद्यार्थीको प्रतिभा प्रस्फुटन तथा गुरु–शिष्य सम्बन्धको महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले शिक्षकप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै विद्यार्थीमा सिर्जनशीलता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।