वीरगञ्ज । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने माइस्थान–गौशाला–सम्सी तथा बर्दिबास–जलेश्वर सडकखण्डमा भएको अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ। कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना स्वेच्छाले हटाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको हो।
कार्यालयका अनुसार सडकको केन्द्ररेखादेखि दायाँ–बायाँ १५-१५ मिटर क्षेत्रभित्र जथाभावी सवारी पार्किङ गर्ने, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड टाँस्ने, निर्माण सामग्री थुपार्ने तथा अस्थायी टहरा निर्माण गरी व्यापार सञ्चालन गर्ने गतिविधि बढ्दै गएको छ। यस्ता कार्यले सडकको सौन्दर्य बिगार्नुका साथै सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न गरिरहेको कार्यालयले जनाएको छ।
कार्यालयले सार्वजनिक सडक क्षेत्र अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत तोकिएको समयभित्र सबै अनधिकृत संरचना हटाउन आग्रह गर्दै अन्यथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
सूचनाअनुसार ३५ दिनभित्र अतिक्रमण हटाइएन भने सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम सडक डिभिजन कार्यालयले आफैं डोजर प्रयोग गरी अनधिकृत संरचना हटाउनेछ।
त्यसरी हटाइएका संरचनाको व्यवस्थापन तथा अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने पनि कार्यालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री बालेन शाहले जनकपुरका सार्वजनिक जग्गा, मठ–मन्दिर, पोखरी तथा सडक क्षेत्रको अतिक्रमण हटाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। सोही प्रतिबद्धताअनुसार सडक क्षेत्र अतिक्रमणमुक्त बनाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ।
सडक डिभिजन कार्यालयले निर्धारित अवधिभित्र अतिक्रमण हटाई सार्वजनिक सडक क्षेत्र सुरक्षित, व्यवस्थित र अवरोधमुक्त बनाउन स्थानीयवासी, व्यवसायी तथा सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ।