वीरगञ्ज, १४ साउन । नेपाल चिकित्सक संघ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच पाँच बुँदे सहमति भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालबाट सुरु भएको चिकित्सकहरूको आन्दोलन अन्त्य भएको छ। आन्दोलन फिर्ता भएसँगै केही दिनदेखि प्रभावित स्वास्थ्य सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।
चिकित्सकमाथि भएको दुर्व्यवहार तथा घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै नारायणी अस्पतालबाट सुरु भएको आन्दोलन देशव्यापी बनेको थियो। मन्त्रालय र नेपाल चिकित्सक संघबीच लामो संवाद तथा समन्वयपछि मंगलबार पाँच बुँदे सहमति भएको र त्यसलगत्तै आन्दोलन फिर्ता लिइएको हो।
सहमतिअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. मनिज गुप्ता र स्वास्थ्यमन्त्री निशा मेहताबीच करिब १० मिनेट प्रत्यक्ष टेलिफोन संवाद गराएका थिए। उक्त संवादले समाधानको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ता निष्कर्षविहीन बनेपछि चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रमुख सुदीपराज पाठकमाथि कारबाही नगरी वार्तामा नबस्ने अडान लिएको थियो।
समस्या समाधानका लागि सांसद पन्त तीन दिनदेखि काठमाडौंमा रही स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा गृह सचिवसँग निरन्तर समन्वयमा सक्रिय रहेका थिए। मंगलबार उनले स्वास्थ्यमन्त्रीको कार्यकक्षमै करिब आधा घण्टा छलफल गरी समाधानका लागि पहल गरेका थिए।
टेलिफोन संवादका क्रममा नारायणी चिकित्सक संघ पर्साका अध्यक्ष डा. गुप्ताले स्वास्थ्यमन्त्री मेहतासमक्ष पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा तथा घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नै चिकित्सकहरूको मुख्य ‘बटमलाइन’ रहेको स्पष्ट पारेका थिए।
आन्दोलनका कारण केही दिनदेखि नारायणी अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदा उपचारका लागि आएका बिरामीहरूले सास्ती भोग्नुपरेको थियो। आन्दोलन अन्त्य भएसँगै अस्पतालका सबै सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।
यसैबीच सांसद हरि पन्तले आन्दोलनका कारण वीरगञ्जवासी तथा सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति क्षमायाचना गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कडा कारबाही हुने विश्वास व्यक्त गरेका छन्।