वीरगञ्ज महानगरपालिका–७ कुम्हालटोल क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। फोहोर उठाउने क्रममा ट्याक्टर चालक तथा उनीसँग आएका व्यक्तिले व्यक्तिगत रूपमा रकम माग्ने गरेको र रकम नदिएपछि फोहोर नउठाएको आरोप लागेको छ। यससम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको छ।
कुम्हालटोलस्थित द चिल्ड्रेन गार्डेन मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तवका अनुसार विद्यालयको फोहोर विगत एक सातादेखि उठाइएको छैन। डस्टबिनमा फोहोर थुप्रिँदा विद्यालय परिसरमा दुर्गन्ध फैलिएको र बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने अवस्था सिर्जना भएको उनले बताइन्।
श्रीवास्तवका अनुसार आफू एक साताका लागि भारत गएको बेला फोहोर संकलन हुन नसकेको र फर्किएपछि विद्यालय परिसरमा फोहोर थुप्रिएको पाइएको थियो। कर्मचारीसँग बुझ्दा फोहोर उठाउने टोलीले नियमित रूपमा व्यक्तिगत रकम माग्ने गरेको र रकम नदिएपछि फोहोर नउठाएको जानकारी पाएको उनको दाबी छ।
“विद्यालयमा साना बालबालिका अध्ययन गर्छन्। फोहोरका कारण संक्रमण फैलिन सक्ने जोखिम छ। यस्तो अवस्थामा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्छ,” उनले भनिन्।
स्थानीयवासीका अनुसार फोहोर उठाउने क्रममा चालक तथा उनीसँग रहेका व्यक्तिले रकम माग्ने र त्यसलाई महानगरपालिकाको निर्देशन भएको भन्दै प्रस्तुत गर्ने गरेका छन्। सार्वजनिक भएको भिडियोले पनि घटनामाथि थप प्रश्न उठाएको छ।
स्थानीय तथा विद्यालय प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न, नियमित फोहोर संकलनको व्यवस्था मिलाउन र यस्ता गतिविधि रोक्न वीरगञ्ज महानगरपालिका तथा वडा कार्यालयसँग माग गरेका छन्।
यस विषयमा वीरगञ्ज महानगरपालिका र वडा कार्यालयको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।