वीरगञ्ज — प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले सुनसरी जिल्लामा हालै भएको धार्मिक द्वन्द्वको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष श्रीवास्तवले सुनसरीको घटना अत्यन्तै दुःखद, चिन्ताजनक र दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्। उनले यस्ता घटनाले नेपाली समाजमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, सद्भाव र सहअस्तित्वको मूल्यलाई कमजोर बनाउने प्रयास गर्ने भएकाले कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन्।
उनले नेपाल विविधता भित्रको एकताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै हिन्दु, मुस्लिमलगायत सबै धर्मका नागरिकले परस्पर सम्मान र विश्वासका साथ शताब्दीयौँदेखि सहअस्तित्व कायम गर्दै आएको स्मरण गराएका छन्।
अध्यक्ष श्रीवास्तवले भावनामा बहकिएर वा अफवाहका आधारमा हिंसात्मक गतिविधिमा संलग्न हुनु समाजलाई विखण्डनतर्फ धकेल्ने खतरनाक कदम हुने भन्दै संयमता अपनाउन सबैमा आग्रह गरेका छन्। उनका अनुसार सुनसरीको घटना कुनै एक जिल्लाको मात्र समस्या नभई सम्पूर्ण राष्ट्रको सामाजिक संरचनामाथिको चुनौती भएकाले यसलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।
घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घटनामा संलग्न जो–कोही दोषी भए पनि कानुनको कठघरामा उभ्याई कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। न्यायको सुनिश्चितता बिना दिगो शान्ति सम्भव नहुने र दण्डहीनताले यस्ता घटना दोहोरिने जोखिम बढाउने उनको भनाइ छ।
श्रीवास्तवले सरकार तथा सम्बन्धित निकायलाई घटनाको निष्पक्ष, गहिरो र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। उनले ढिलासुस्ती, राजनीतिकरण वा कमजोरीले समाजमा अविश्वास बढाउने भएकाले राज्यले नागरिकको सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।
उनले अहिलेको आवश्यकता विभाजन होइन संवाद, आक्रोश होइन समझदारी रहेको उल्लेख गर्दै सामाजिक सञ्जाल वा अफवाहमार्फत फैलाइने घृणा र उत्तेजनाबाट टाढा रहन सबै सचेत नागरिकलाई आग्रह गरेका छन्।
अन्त्यमा अध्यक्ष श्रीवास्तवले सम्पूर्ण हिन्दु तथा मुस्लिम समुदायबीच शान्ति, संयमता र आपसी सम्मान कायम राख्न हार्दिक अपिल गरेका छन्। “हामी विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिले सजिएको फूलबारीजस्तै समाजका सदस्य हौँ। हाम्रो शक्ति आपसी सद्भाव र एकतामा निहित छ। यही एकताले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ,” भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।