१५ साउन, वीरगञ्ज । नेपाली समाजमा परम्परागत रूपमा मनाइँदै आइएको साउन १५ पर्व आज घर-घरमा स्वादिष्ठ खिर खाएर मनाइँदै छ । असार १५ मा दही-चिउरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको मौलिक संस्कृतिले नेपाली जनजीवनमा विशेष महत्त्व राख्दै आएको छ ।
साउने झरीको समयमा तातो र पोषिलो खिरले स्वास्थ्यलाई लाभ पुर्याउने भएकाले यो परम्परा स्थापित भएको विश्वास गरिन्छ ।
धमा मरिच, सुुकमेल, केसरलगायतका गरम मसला र मरिच हालेर पकाइने खिरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिरको प्रयोग वैदिकशास्त्रमा पितृ तथा देवकार्यका लागि पनि अनिवार्य मानिएको छ ।
साउन महिना खेतीपातीको चटारो सकिने र हरियालीका कारण गाईभैँसीले धेरै दूध दिने समय पनि हो । गाउँघरमा दूधको उपलब्धता बढी हुने भएकाले छोरीचेली, इष्टमित्र र आफन्तलाई घरमा निमन्त्रणा गरी खिर खुवाउने परम्परा चलेको संस्कृतिविद्हरूको भनाइ छ ।
भगवान् शिवको प्रिय महिना साउन भएकाले शिवलाई दूध र दूधबाट बनेका परिकार चढाउने धार्मिक मान्यता पनि छ । चामलका साथै सागुदाना, सेभई, मकै तथा गाजरको समेत खिर बनाएर खाने चलन नेपाली समाजमा रहेको छ । नेपाली बृहत् शब्दकोशले खिरलाई ‘दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी परिभाषित गरेको छ ।
यसैबिच, राष्ट्रिय दुग्ध विकास बोर्डको निर्णय अनुसार आज देशभर आठौँ ‘खिर दिवस’ मनाइँदै छ । दुग्धजन्य पदार्थको उपभोग बढाउन र यसको पोषणयुक्त महत्त्वबारे सचेतना फैलाउन बोर्डले साउन १५ लाई खिर दिवसका रूपमा मनाउन थालेको हो ।
प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो, ४।७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन हुने भएकाले प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ। नेपाली समाजमा असार १५ मा दही(चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउखट्टे र माघ १५ मा मालपुवा खाने जस्ता विशिष्ट मौसमी खानपानका परम्पराहरू रहिआएका छन् ।