वीरगञ्ज — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरामा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बिहीबार सद्भाव र्याली आयोजना गरिएको छ।
विभिन्न धर्म, जातजाति, समुदाय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको र्याली सिमराका विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको थियो।
र्यालीमा सहभागीहरूले समाजमा आपसी विश्वास, सहिष्णुता, धार्मिक स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले “शान्ति, सद्भाव र सामाजिक एकता हाम्रो साझा प्रतिबद्धता”, “जात–धर्मभन्दा ठूलो मानवता हो”, “शान्ति हाम्रो समृद्धिको आधार हो” र “घृणा होइन, सद्भाव रोजौँ” जस्ता नारासहित सामाजिक विभाजनभन्दा सहकार्य, सम्मान र भाइचाराको संस्कृतिलाई अघि बढाउन आग्रह गरेका थिए।
सहभागीहरूले सुनसरीमा हालै भएको घटनाको सन्दर्भ उल्लेख गर्दै पछिल्लो समय समाजमा देखिएका द्वन्द्व, विभाजन र असहिष्णुताको अन्त्य गरी आपसी मेलमिलाप, सहअस्तित्व र पारस्परिक सम्मानको भावना विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
उनीहरूले नेपालको धर्म, भाषा, संस्कृति र परम्पराको विविधतालाई साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै सामाजिक सद्भाव कायम राख्नु वर्तमान समयको प्रमुख आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।
र्यालीमा राखिएको ब्यानरमा विभिन्न धर्म तथा समुदायका धार्मिक गुरुहरूको तस्बिर समावेश गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी विश्वास, सहयोग र सद्भावको वातावरण निर्माण गर्नुका साथै सामाजिक एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।