१६ साउन, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न भागमा लगाउँदै आएको कर्फ्यु आदेश हटाएर निषेधाज्ञा लागू गरेको छ। शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्थालाई सामान्य बनाउने उद्देश्यले प्रशासनले कर्फ्यु हटाउँदै निषेधाज्ञा जारी गरेको हो।
साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेशलाई हटाएर आज बिहान ५:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि निषेधाज्ञाको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ।
प्रशासनका अनुसार निषेधाज्ञा लागू भएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, कुनै पनि किसिमको जुलुस, प्रदर्शन, सभा, बैठक वा धर्ना गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै जारी गरिएको यो आदेशको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले सर्वसाधारण सबैमा आग्रह गरेको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा सुनसरीका देहाय बमोजिमका क्षेत्रहरूमा लागू रहनेछस्
इटहरी उपमहानगरपालिकास् वडा नं. १६ र १७ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
रामधुनी नगरपालिकास् वडा नं .१ र २ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
इनरुवा नगरपालिका: सम्पूर्ण भूभाग
दुहबी नगरपालिका: सम्पूर्ण भूभाग
भोक्राहा नरसिंह गाउँपालिका : सम्पूर्ण भूभाग
कोशी गाउँपालिका : सम्पूर्ण भूभाग
गढी गाउँपालिका :सम्पूर्ण भूभाग
देवानगञ्ज गाउँपालिका : सम्पूर्ण भूभाग
हरिनगर गाउँपालिका : सम्पूर्ण भूभाग
बर्जु गाउँपालिका : सम्पूर्ण भूभाग