जनकपुर : हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्दै जनकपुरधाममा ‘हिन्दु–मुस्लिम भाइ–भाइ, राष्ट्रिय एकता जिन्दावाद’ नारासहित सद्भाव र्याली निकालिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको नेतृत्वमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेको थियो ।
र्यालीमा प्रतिनिधिसभा सदस्य मातृका यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा स्थानीय जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षा अधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै धनुषामा बिहीबारदेखि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो । सोही छलफलको निष्कर्षअनुसार शनिबार बिहान ८ बजे सद्भाव र्याली आयोजना गरिएको हो ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो । उक्त घटनाका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहता घाइते भएका थिए । त्यसपछि सिरहाको गोलबजारमा पनि प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि मधेशका विभिन्न जिल्लामा तनावको अवस्था सिर्जना भएको थियो ।