१६ साउन,वीरगञ्ज । सुनसरीमा भएको दुःखद घटनापछि वीरगञ्जलगायत देशका विभिन्न क्षेत्रमा विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले वर्तमान संवेदनशील परिस्थितिमा जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित सूचना सम्प्रेषण तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
महासंघका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, भ्रामक सामग्री तथा पुराना तस्बिर र भिडियोलाई नयाँ घटनासँग जोडेर प्रचारप्रसार गर्ने प्रवृत्ति बढेको भन्दै त्यसप्रति गम्भीर चासो व्यक्त गरेको छ। यस्ता गतिविधिले जनमानसमा भ्रम, त्रास र असुरक्षाको भावना फैलाउनुका साथै सामाजिक सद्भाव, शान्ति–सुरक्षा र साम्प्रदायिक सहअस्तित्वमा समेत प्रतिकूल असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्तो संवेदनशील अवस्थामा सञ्चार क्षेत्रको भूमिका अझ जिम्मेवार, सत्यनिष्ठ, संयमित र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै महासंघले सम्पूर्ण सञ्चारकर्मी, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई उच्च संवेदनशीलता अपनाउन आग्रह गरेको छ।
महासंघले समाचार प्रकाशन वा प्रसारणअघि तथ्यको यथार्थ पुष्टि गर्न, आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र प्राथमिकता दिन र हिंसा, द्वेष, उत्तेजना वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि सामग्रीको प्रचारप्रसार नगर्न अनुरोध गरेको छ। साथै पत्रकारिताको आचारसंहिता, सत्यता, निष्पक्षता, व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राखी जिम्मेवार पत्रकारिताको अभ्यास गर्न पनि आग्रह गरेको छ।
विज्ञप्तिमा वर्तमान परिस्थितिको समाधान बल प्रयोग, उत्तेजना वा अफवाहका आधारमा नभई संवाद, सहिष्णुता, कानुनी प्रक्रिया र आपसी समझदारीमार्फत खोजिनुपर्ने स्पष्ट पारिएको छ। शान्ति, सामाजिक सद्भाव र कानुनी शासनको संरक्षण गर्दै उत्पन्न परिस्थितिको जिम्मेवार तथा दीर्घकालीन समाधानका लागि नेपाल सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षलाई संयमता र आपसी सहकार्यका साथ अघि बढ्न नेपाल पत्रकार महासंघ पर्सा शाखाले आग्रह गरेको छ।