१७ साउन, बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद चर्किएको छ ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजेतिर सादा पोसाकमा रहेका करिब १५ जना र हतियारसहित आएका करिब ६० जना एसएसबीका सुरक्षाकर्मी सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा प्रवेश गरेका थिए ।
उनीहरूले नेपाली भूमिमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काएको स्थानीयले बताएका छन् । भारतीय सुरक्षाकर्मीले बाँध भत्काएपछि स्थानीयले विरोध जनाउँदै प्रतिवाद गरेका थिए ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले एसएसबीका सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा करिब ३ सय मिटर नेपालतर्फ प्रवेश गरी बाँध भत्काएको दाबी गरे ।
उनका अनुसार स्थानीयले रोक्ने प्रयास गरे पनि हतियारसहित आएका सुरक्षाकर्मीका कारण प्रतिरोध गर्न नसकिएको र केही समय विवाद भएको थियो ।
यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माण रोक्न दबाब दिएपछि काम रोकिएको थियो ।
सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमाक्षेत्रका रूपमा रहँदै आएको छ । स्थानीयका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक–पटकको हस्तक्षेपका कारण यहाँ विवाद दोहोरिँदै आएको छ ।
स्थानीय मुन्ना खाँले सीमा व्यवस्थापनमा देखिएको कमजोरी र नदीको बहाव परिवर्तनका कारण सुस्ता क्षेत्रमा समस्या समाधान हुन नसकेको बताए । घटनाबारे सम्बन्धित निकायबाट आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ ।