नेपाल अडिटर्स एसोसिएसन (अडान) को २१औँ स्थापना दिवसको अवसरमा अडान पर्साले बुधबार वीरगंजमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।
स्थापना दिवसका अवसरमा पर्सा जिल्लाका लेखापरीक्षक तथा लेखा व्यवसायीहरू वीरगञ्जको घण्टाघरमा भेला भएका थिए। उनीहरूले घण्टाघरबाट प्रभातफेरी सुरु गर्दै भानुचोकको परिक्रमा गरी पुनः घण्टाघरमा पुगेर कार्यक्रम सम्पन्न गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अडानका केन्द्रीय सदस्य दिनानाथ रौनियारले पछिल्ला वर्षहरूमा लेखापरीक्षकहरूको संख्या घट्दै गएको तथा पेशालाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै पेशागत हकहित, सुरक्षा र सम्मानका लागि सबै लेखापरीक्षक एकताबद्ध हुनुपर्नेमा जोड दिए।
अर्का केन्द्रीय सदस्य डा। सन्तोष कुमार साहले लेखापरीक्षकहरूलाई बिचौलिया र झोले प्रवृत्तिबाट टाढा रहँदै इमान्दार, पारदर्शी र मर्यादित ढंगले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
कार्यक्रममा केन्द्रीय अनुशासन समितिका सदस्य प्रदुम्न प्रसाद सेढाई, वरिष्ठ लेखापरीक्षक श्यामनारायण श्रेष्ठ, रोशन श्रेष्ठ, दीपक ध्वज जोशी, श्याम ठाकुर, विजयराज शर्मा, जयन्त चौरसिया, रामसदाय सिंह, प्रेम उपाध्याय, किशोर गुप्ता, उमेशचन्द्र यादवलगायत लेखापरीक्षक तथा भिजन टिमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अडान पर्साका उपाध्यक्ष प्रेमचन्द चौरसियाले सहभागी तथा अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव कुलोत्तम पोखरेलले गरेका थिए भने व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष रामबाबु साहले सम्हालेका थिए।
अडान पर्साका अध्यक्ष गजेन्द्रमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले लेखापरीक्षकहरूलाई नियामक निकायले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा आफ्नो हस्ताक्षरको कुनै पनि प्रकारको दुरुपयोग हुन नदिन विशेष सतर्क रहन आग्रह गरे।
उनले कार्यक्रममा भिजन टिमले लेखापरीक्षकहरूका लागि भेष्ट उपलब्ध गराएको तथा आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद व्यक्त गर्दै पेशागत एकता र संस्थागत सुदृढीकरणका लागि सबै सदस्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमले लेखापरीक्षकहरूबीच पेशागत एकता, अनुशासन, आचारसंहिताको पालना तथा पेशाको गरिमा संरक्षण गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।