वीरगञ्ज । परवानीपुर गाउँपालिका–५ बहुअरीका युवा समाजसेवी दीपेश पटेलले स्थानीय सरकारको बेवास्ताबीच आफैं अग्रसर भएर जीर्ण सडक मर्मत गराएका छन्। लामो समयदेखि खाल्डाखुल्डी र धुलाम्मे अवस्थामा रहेको सडकलाई उनले व्यक्तिगत खर्चमा मर्मत गराएपछि स्थानीयवासीले उनको पहलको प्रशंसा गरेका छन्।
गण्डकको मैनचोक हुँदै कलैया जोड्ने सडकखण्ड बिग्रिएर सवारी आवागमनमा समस्या हुँदै आएको थियो। सडकको दयनीय अवस्थाका कारण मोटरसाइकल, अटो रिक्सा, ट्र्याक्टर, ट्रक तथा साइकल चालकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य थिए भने दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय बताउँछन्।
स्थानीयवासीका अनुसार सडक मर्मतका लागि वडा कार्यालयदेखि सम्बन्धित स्थानीय तहसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान हुन सकेन। अन्ततः स्थानीय युवा दीपेश पटेलले नागरिकको पीडा महसुस गर्दै आफ्नै पहलमा जेसीबी र ग्रेडर प्रयोग गरी सडक मर्मत गराएका हुन्।
मर्मत कार्य भइरहँदा पटेल स्वयं स्थलमै खटिएर कामको अनुगमन गरेका थिए भने उनका सहयोगीहरूले समेत श्रम र सहयोग गरेका थिए।
“समस्या देखेर पनि चुप लागेर बस्नुभन्दा आफ्नो क्षमताले सक्ने काम गर्नुपर्छ भन्ने सोचले सडक मर्मत गरेको हुँ,” पटेलले भने। उनले आगामी दिनमा पनि सामाजिक हितका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सडक मर्मत भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। उनीहरूले लामो समयदेखि बेवास्तामा परेको समस्यालाई व्यक्तिगत पहलबाट समाधान गर्ने प्रयास गरेको भन्दै पटेलको प्रशंसा गरेका छन्।
तर, स्थानीय सरकारको जिम्मेवारीभित्र पर्ने सडक मर्मतको कामसमेत व्यक्तिगत पहलबाट गर्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै स्थानीयले सम्बन्धित निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।