वीरगञ्ज, साउन २० — जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लागेको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपाल पत्रकार महासंघ युरोप शाखाले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार नेपाल पत्रकार महासंघ युरोपका पूर्वउपाध्यक्ष तथा नेपाल समाचारपत्र का युरोप प्रतिनिधि दीपेन्द्र गजुरेलले समाचारसम्बन्धी प्रतिक्रिया (बाइट) लिन सम्पर्क गर्दा प्रथम सचिव यादवले धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।
विज्ञप्तिअनुसार यादवले गजुरेललाई, “तपाईं कुन ठाउँमा बसेर पत्रकारिता गर्दै हुनुहुन्छ, थाहा छ र? म अबदेखि तपाईंको फोन उठाउँदिन। थप समाचार लेख्नुभयो भने तपाईंलाई गाह्रो पर्छ, ब्याक फायर गर्छु,” भनेका थिए।
महासंघले उक्त अभिव्यक्तिले पत्रकारमाथि मानसिक त्रास सिर्जना गर्नुका साथै स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र कूटनीतिक मर्यादामाथि प्रहार गरेको जनाएको छ। पत्रकारिताको व्यावसायिक दायित्व निर्वाह गरिरहेका सञ्चारकर्मीप्रति जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो व्यवहार हुनु निन्दनीय र गम्भीर विषय भएको विज्ञप्तिमा उल्लेख छ।
महासंघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग घटनाको तत्काल निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ। साथै, विदेशमा कार्यरत नेपाली पत्रकारहरूको सुरक्षा, सम्मान तथा भयरहित वातावरणमा पत्रकारिता गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि आग्रह गरेको छ।
पत्रकार गजुरेलले गत साता बर्लिनस्थित नेपाली राजदूतावासले कर्मचारी भर्नासम्बन्धी प्रकाशित सूचनामा अनधिकृत रूपमा फेरबदल गरिएको भन्दै प्रमाणसहित समाचार प्रकाशन गरेका थिए। सोही समाचारको विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्ने क्रममा आफूलाई धम्की दिइएको उनको भनाइ छ।