विश्व स्तनपान सप्ताह–२०२६ अन्तर्गत नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, वीरगञ्जको नर्सिङ विभागले बालरोग वार्डमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।"Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works" भन्ने नारासहित आयोजित कार्यक्रमको उद्घाटन अस्पतालकी निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक खेलौना तथा स्तनपानसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो।
प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलआधारित सिकाइको महत्त्वबारे जानकारी दिइएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुको पोषण तथा स्वस्थ विकासमा स्तनपानको भूमिकाबारे सचेतना प्रदान गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी र चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ विद्यार्थी तथा शिक्षक सहभागी भएका थिए। उनीहरूले शैक्षिक खेलौनामार्फत खेल्दै सिक्ने विधि र बाल विकासका विभिन्न पक्षबारे जानकारी लिएका थिए।
यस अवसरमा नवप्रसूता आमाहरूलाई ‘बेबी–मदर फोटो फ्रेम’ वितरण गरिएको थियो। अस्पतालका अनुसार यस कार्यक्रमले मातृ–शिशु सम्बन्ध सुदृढ बनाउन तथा मातृमैत्री र शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूलाई नर्सिङ विभागले धन्यवाद ज्ञापन गरेको छ।