वीरगञ्ज । पत्रकारको परिचयपत्र प्रयोग गरी प्रहरीको सुरक्षा जाँच छल्दै लागुऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) शाखा कार्यालय बर्दिबासको टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ बाट ४४ ग्रामभन्दा बढी ब्राउन सुगर (खैरो हेरोइन) सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
ब्युरोका अनुसार मङ्गलबार राति नियमित चेकजाँचका क्रममा बा १६ च ७८४६ नम्बरको कारलाई नियन्त्रणमा लिइएको थियो। कारको गियर बक्सभित्र विशेष रूपमा लुकाएर राखिएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर गाउँपालिका–९ का २६ वर्षीय उमेशकुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेशकुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सनप्रसाद साह रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास बोहराका अनुसार कार चालक यादवको साथबाट सिरहाको लहान–२२ ठेगाना उल्लेख भएको ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको पत्रकार परिचयपत्र समेत बरामद भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कार सिरहाको मिर्चैयाबाट काठमाडौं जाँदै गरेको थियो। सुरक्षा निकायको जाँचबाट सहजै उम्किन पत्रकार परिचयपत्र प्रयोग गरिएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त कार हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीको हिरासतमा राखी लागुऔषध (नियन्त्रण) ऐनअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।