वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय बाराले एलपी (LP) ग्यासको सहज आपूर्ति, सुरक्षित वितरण तथा कृत्रिम अभाव नियन्त्रण गर्न उत्पादक, वितरक र डिलरहरूलाई आवश्यक निर्देशन जारी गरेको छ। बजारमा एलपी ग्यासको आपूर्ति तथा वितरणका विषयमा उपभोक्ताबाट गुनासो आएपछि प्रशासनले यस्तो सूचना जारी गरेको हो।
प्रशासनले जारी गरेको सूचनाअनुसार नेपाल सरकारद्वारा तोकिएको परिमाण, गुणस्तर र मापदण्डअनुसार ग्यास उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ। साथै, नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास बिक्री–वितरण गर्न नपाइने स्पष्ट गरिएको छ।
त्यसैगरी, ग्यास सिलिन्डरको भण्डारण तथा वितरण गर्दा निर्धारित सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न, सुरक्षित तथा मापदण्डअनुसारका सिलिन्डर मात्र बिक्री–वितरण गर्न र उपभोक्तालाई खरिदको बिल अनिवार्य उपलब्ध गराउन निर्देशन दिइएको छ।
प्रशासनले खाली सिलिन्डर साटासाट गर्दा अनिवार्य रूपमा नयाँ सिलिन्डर उपलब्ध गराउनुपर्ने, सबै सिलिन्डरको आगमन तथा बिक्री–वितरणको अभिलेख अद्यावधिक राख्नुपर्ने तथा माग भएमा जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था पनि गरेको छ।
यस्तै, एक कम्पनीको सिलिन्डरबाट अर्को कम्पनीको सिलिन्डरमा ग्यास भरेर बिक्री गर्ने जस्ता जोखिमपूर्ण तथा गैरकानुनी कार्य नगर्न र समय–समयमा हुने अनुगमनका क्रममा दिइने निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।
प्रशासनले सूचनामा उल्लिखित निर्देशनको पालना नगरे, कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, एलपी ग्यासको कालोबजारी वा कृत्रिम अभाव सम्बन्धी जानकारी भए जिल्ला प्रशासन कार्यालय बाराको गुनासो नम्बर वा ह्वाट्सएपमार्फत सूचना दिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।