जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा अनुगमन तीव्र पारिएको छ ।
स्थानीय प्रशासनको सहयोगमा महेन्द्रनगरमा रहेको नेपाल आयल निगम इन्धन डिपोबाट खटिएका ५ जनाको टोलीले नगर क्षेत्रमा रहेका विभिन्न ग्याँस डिलर तथा पसलहरूमा अनुगमन सुरु गरेका छन् । टोलीले ग्यास डिलरमा मौज्दात कति छ, खाली कति छ भन्दै सोधपुछ गर्न थालेका हुन् ।
टोलीले नगरको रामानन्द चोक, बलवा टोल, थापा चोक, पिडारी चोक, रजौल, सरस्वती टोल लगायतका स्थानमा अनुगमन गरिसकेको छ । अनुगमनको क्रममा धेरै स्थानका डिलरमा भरी सिलिण्डर ग्याँस नदेखिएको र कतिपय डिलरहरूमा मौज्दात रहेको भेटिएको अनुगमन टोलीका एक सदस्यले जनाए । टोलीका अनुसार डिलरमा भेटिएका ग्यास आवश्यकता अनुसार उपभोक्ताहरूलाई बाँड्ने प्रबन्ध मिलाइएको छ ।
अनुगमन टोलीमा संलग्न एवं नेपाल आयल निगम इन्धन डिपो महेन्द्रनगरका प्रमुख राजेश सिलवालले देशभरि ग्यास अभाव सिर्जना भएको सार्वजनिक भएपछि यहाँको अवस्था बुझ्न अनुगमन थालिएको बताए । ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक अनुमगन थालेका छौँ’, उनले भने, ‘अहिले सम्म ७र८ वटा डिलरमा अनुगमन गर्दा अधिकांशमा ग्यास नरहेको देखियो भने कतिपयमा थोरै मौज्दात रहेको भेटियो । मौज्दात भेटिएका ग्याँस आवश्यकता अनुसार स्थानीयबासीलाई बाँड्ने प्रबन्ध मिलाइरहेका छौँ ।’
टोलीले बाहिर हल्ला भएजस्तो चरम अभाव नभएको दाबी गरेको छ । टोलीका सदस्यका अनुसार अधिकांश उपभोक्ताले ग्यास नपाउने त्रासले अत्यधिक स्टक थुपारेका कारण पनि अभाव सिर्जना भएको हो । टोलीले हालसम्म जनकपुरको नेहा ट्रेडर्स रजौल, न्यू श्रृष्टि टेडर्स भमरपुरा, भावना एण्ड ज्योती टेडर्स, आस्था इन्टरप्राईजेज पिडारी चोक लगायतका स्थानमा अनुगमन गरेको छ । अन्य स्थानमा पनि अनुगमन गरिने जनाइएको छ ।
टोलीका सदस्यहरूले डिलरमा पुगेर बिक्रेताहरूसँग सहजीकरण गर्दै भएको ग्याँस उपभोक्तालाई दिन आवश्यक निर्देशन दिनुका साथै ग्यास नपाउने उपभोक्तालाई सहज रुपमा पुर्याउने व्यवस्था मिलाउन फोन नम्बरसमेत सार्वजनिक गरेको छ । टोलीका अनुसार जनकपुरमा भित्रिने ग्यासमा विगतको तुलनामा कटौती नभई उल्टै बढी आएको छ । टोलीले डिलरभित्र सबै स्थानमा चेकजाँच गर्ने गरेका छन् ।
जनकपुर नगर क्षेत्रमा बढी पैसा लिएर ग्याँस दिने गरेको गुनासो आए पनि अनुगमनका क्रममा त्यस्तो फेला नपरेको सिलवालले बताए । उपभोक्ताबाट पनि मौखिक या लिखित रुपमा आफूकहाँ त्यस्तो उजुरी नआएको उनको भनाइ छ ।
टोलीले ग्याँसको चरम अभाव नभएको बताइरहेका बेला स्थानीयबासी भने ग्यासका लागि धेरै संघर्ष गर्नुपरेको गुनासो गर्छन् । डिलरमा जाँदा ग्याँस छैन भन्ने र ग्यास आएको स्थानमा जाँदा यसअघि जहाँबाट लिने गरेको थियो, सोही डिलरमा जान भन्ने गरेको उनीहरूको गुनासो छ ।
बलवा टोलका बासिन्दा रमेश सुडीले भने, ‘ग्याँस नपाएर हैरान भएको छु । आफूले लिइरहेको ठाउँमा ग्यास छैन । ग्याँस आएको ठाउँमा लिन जाँदा पहिले नै नाम टिपाएर राखेकाहरूका लागि मात्र वितरण गर्ने भनेर फर्काइदिन्छन् ।’
बजारमा खाली सिलिण्डर बोकेर हिँड्नेहरू यत्रतत्र देखिन्छन् । उनीहरू ग्यासका लागि दिनभरि खटिने गरे पनि सहज रुपमा नपाएको गुनासो गर्छन् । ग्याँसको अभाव उत्कर्षमा पुगेपछि कतिपयले विद्युतबाट चल्ने उपकरण किन्न थालेका छन् ।