काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३/८४ को सुरुआतसँगै सरकारी कर्मचारीहरूको संशोधित तलबमान तथा सुविधा सम्बन्धी आधिकारिक विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले नयाँ तलबमान कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयहरूमा परिपत्र जारी गरेसँगै संशोधित तलब संरचना लागू भएको हो।
नयाँ तलबमानअनुसार निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवको सुरु स्केल ८४ हजार ९३२ रुपैयाँ कायम गरिएको छ। दुई ग्रेड रकम जोड्दा मुख्य सचिवको मासिक कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ। नेपाली सेनाका प्रधान सेनापतिको तलब पनि मुख्य सचिव सरह नै निर्धारण गरिएको छ।
यस्तै, विशिष्ट श्रेणीका सचिवको कुल मासिक तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ भने अवकाश प्राप्त सचिवहरूले ६६ हजार ५३९ रुपैयाँ मासिक पेन्सन प्राप्त गर्ने व्यवस्था गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक, स्वास्थ्य सेवाका बाह्रौं तहका अधिकृत तथा संसद् सेवाका सचिवको पदिक तलब पनि निजामती सेवाका सचिवसरह कायम गरिएको छ।
मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद् सेवा, स्थानीय तह तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारीहरूको नयाँ तलब, ग्रेड तथा मासिक प्रोत्साहन भत्ता संशोधित संरचनाअनुसार गणना गरी भुक्तानी गर्न निर्देशन दिएको छ। यससँगै नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीहरूको संशोधित तलबमान औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।