वीरगञ्ज– सनातन हिन्दू मोर्चाले नेपाल सरकार तथा सम्पूर्ण आम नागरिकलाई लक्षित गर्दै २१ बुँदे सन्देश सार्वजनिक गरेको छ। उक्त सन्देशमार्फत राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण, सुशासन, सामाजिक उत्तरदायित्व तथा विभिन्न समसामयिक विषयमा आफ्नो धारणा र सुझाव प्रस्तुत गरिएको छ।
सनातन हिन्दू मोर्चाका केन्द्रीय संयोजक सन्तोषानन्द महाराजले नेपाल भगवान् पशुपतिनाथको पावन भूमि भएकाले देशको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानको संरक्षण सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो।
उहाँका अनुसार सार्वजनिक गरिएको २१ बुँदे सन्देशमा राष्ट्रिय पहिचान, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा राष्ट्रिय एकताको विषयमा व्यापक जनचेतना र राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, नेपालमा बसोबास गर्ने सबै जाति, धर्म, भाषा र संस्कृतिको सम्मान गर्दै कानुनको शासन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने तथा अपराधमा संलग्न जोसुकैलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।
मोर्चाले नेपाली भाषा, संस्कृति, मौलिक पहिचान र नेपालीपनलाई प्रवर्द्धन गर्न, गुरुकुल शिक्षाको विस्तार गर्न, गौसेवा केन्द्र स्थापना गर्न तथा “सानो परिवार, सुखी परिवार” को अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। साथै विद्यालय, कलेज तथा सार्वजनिक संस्थाहरूमा राष्ट्रिय एकता, देशभक्ति र नैतिक शिक्षालाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ।
सन्देशमा धर्म परिवर्तनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवामा पारदर्शी र योग्यतामा आधारित नियुक्ति प्रणाली, धार्मिक स्थल वरपर स्वच्छ, मर्यादित र शान्त वातावरण कायम गर्न आवश्यक व्यवस्था तथा भाषा, पोशाक, टीका, अनुहार वा बसोबासका आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्ने विषय पनि समावेश गरिएको छ।
त्यसैगरी गौहत्या, बलात्कार, हत्या तथा राष्ट्रविरुद्धका गम्भीर अपराधमा कडा कानुनी सजायको व्यवस्था गर्न, आत्म रक्षाको लागी विद्यार्थीहरू लाई जीवनोपयोगी तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गर्न तथा तराई–मधेस क्षेत्रमा हिन्दू धर्मको संरक्षणका क्रममा भएका हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग मोर्चाले अघि सारेको छ।
मोर्चाले पीडित तथा शहीद परिवारसँग भएका वैधानिक सम्झौताहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न, गम्भीर घाइतेहरूको निःशुल्क उपचारको उचित व्यवस्था गर्न तथा नेपालको शासन व्यवस्था र राष्ट्रिय पहिचानसम्बन्धी विषयमा संविधान र लोकतान्त्रिक प्रक्रियाअनुसार राष्ट्रिय छलफल हुनुपर्ने धारणा पनि सार्वजनिक गरेको छ।
केन्द्रीय संयोजक सन्तोषानन्द महाराजले सरकारले प्रस्तुत २१ बुँदे सन्देशलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्नुपर्ने बताउँदै सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा नेपालको धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।