अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा स्वतः नागरिकता प्राप्त हुने व्यवस्थालाई थप सीमित बनाउने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअघि जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने उनको प्रयास सर्वोच्च अदालतबाट रोकिएको केही सातापछि उनले पुनः नयाँ कदम चालेका हुन्।
बिहीबार जारी गरिएको आदेशमध्ये पहिलोले जन्मसिद्ध नागरिकताका लागि अयोग्य हुने गैर–नागरिकहरूको दायरा विस्तार गरेको छ भने दोस्रो आदेशले ‘बर्थ टुरिज्म’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिलाहरू अमेरिका आउने अभ्यासमा प्रतिबन्ध लगाएको छ।
ट्रम्पले यो व्यवस्था धेरै वर्षअघि नै लागू हुनुपर्ने बताउँदै आफ्नो प्रशासनले अहिले त्यसलाई कार्यान्वयनको चरणमा पुर्याएको दाबी गरेका छन्। साथै, उनले जन्मसिद्ध नागरिकता सीमित गर्ने आफ्नो अघिल्लो प्रयासलाई सर्वोच्च अदालतले रोकेको विषयप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन्।
नयाँ आदेशअनुसार यदि नवजात शिशुका आमा–बुबा दुवै गैर–नागरिक भए र उनीहरूमध्ये कुनै एक विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारी कर्मचारी वा ठगीमार्फत नागरिकता प्राप्त गर्न खोजेको व्यक्ति भएको खण्डमा त्यस्ता शिशुले अमेरिकामा जन्मिएकै आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्।
त्यस्तै, बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले मात्रै गर्भवती महिलाहरू अमेरिका आउने अभ्यासलाई पनि प्रशासनले निषेध गरेको छ। ट्रम्प प्रशासनले विशेषगरी रुस र चीनलगायतका देशका नागरिकहरूले ‘बर्थ टुरिज्म’को दुरुपयोग गरिरहेको आरोप लगाएको छ।
यद्यपि, माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार ‘बर्थ टुरिज्म’मार्फत अमेरिकामा वार्षिक करिब २२ हजारदेखि २६ हजार शिशु जन्मिने गरेका छन्। ट्रम्पले भने यस्तो प्रक्रियाबाट लाखौँ बच्चा जन्मिएको दाबी गरेका छन्।
राष्ट्रपति ट्रम्पका गृह सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटकको रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता प्राप्त गराउनु रहेको आरोप लगाउँदै त्यसबाट भविष्यमा सरकारी सुविधा र मतदान अधिकारको दुरुपयोग हुने दाबी गरेका छन्।