२२ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले हालै सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षा (स्पेसल एक्जामिनेसन) को नतिजाले विदेशबाट चिकित्साशास्त्र अध्ययन गरेर फर्किने विद्यार्थीहरूको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
काउन्सिलद्वारा सार्वजनिक गरिएको विवरण अनुसार गत साउन ७ र ८ गते लिइएको उक्त परीक्षामा नेपालका शैक्षिक संस्थाहरूबाट अध्ययन गरेका विद्यार्थीहरूको सफलता दर उच्च रहँदा विदेशका विभिन्न मुलुकबाट डिग्री लिएर आएका अधिकांश परीक्षार्थीहरू अनुत्तीर्ण हुन पुगेका छन् । देश तथा विदेशका विभिन्न कलेजबाट परीक्षामा कुल १ हजार १३ जना विद्यार्थीहरू सहभागी भएका थिए, जसमध्ये समग्रमा ९४७ जना ९९३.४८ प्रतिशत) उत्तीर्ण हुँदा ६५ जना भने फेल भएका छन् ।
नतिजाको देशगत तथ्याङ्कलाई केलाउँदा नेपालमै पढेका चिकित्सकहरूले आफ्नो वर्चस्व कायम राखेका छन्। नेपालका मेडिकल कलेजबाट परीक्षामा सहभागी भएका ९१९ जनामध्ये ९०४ जना उत्तीर्ण हुँदा मात्र १५ जना अनुत्तीर्ण भएका छन् ।
यता, विदेशी विश्वविद्यालयबाट अध्ययन गरी लाइसेन्स परीक्षामा सामेल भएकाहरूको अवस्था भने चिन्ताजनक देखिएको छ । विदेशी मुलुकहरूमध्ये भारतबाट परीक्षा दिएका १७ जनामध्ये १३ जना ९७६.४७ प्रतिशत उत्तीर्ण भएर सन्तोषजनक नतिजा ल्याएका छन् भने पाकिस्तानबाट सहभागी सबै ९ जना नै पास हुन सफल भएका छन् । तर, चीनबाट चिकित्सा शिक्षा पढेर फर्केका ३७ जनामध्ये मात्र ८ जना ९२१.६२ प्रतिशत उत्तीर्ण हुँदा २८ जना भने परीक्षामा फेल भएका छन् ।
त्यसैगरी, इजिप्टबाट परीक्षामा सहभागी १९ जनामध्ये ८ जना, किर्गिस्तान र फिलिपिन्सबाट ५-५ जना सहभागी भएकामा दुवै देशबाट २-२ जना मात्र पास भएका छन् । यसका साथै, अमेरिका र बेलारुसबाट परीक्षामा सहभागी भएका १-१ जना परीक्षार्थी पनि अनुत्तीर्ण भएको काउन्सिलले जनाएको छ । नियमअनुसार नेपालमा चिकित्सकीय अभ्यास (प्रक्टिस) गर्नका लागि अनिवार्य रूपमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नैपर्ने व्यवस्था रहेको छ र काउन्सिलले वर्षको दुई पटक यसप्रकारको परीक्षा सञ्चालन गर्दै आएको छ ।
यता, विदेशमा पढेका चिकित्सकहरूको नतिजा कमजोर आएपछि यसको चौतर्फी टीकाटिप्पणी भइरहेको सन्दर्भमा नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले भने यसैको आधारमा विदेशको पढाइ समग्रमा कमजोर छ भनी निष्कर्ष निकाल्न हतारो हुने बताएका छन् ।