इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बराहक्षेत्र नगरपालिका–१ स्थित गुप्त बराह–चतरा भित्री सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले शनिबार बिहान करिब ५ः३० बजे गाँजा ओसारपसारमा प्रयोग भएका दुई सवारीसाधन नियन्त्रणमा लिएर जाँच गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा कारमा लुकाएर राखिएको २२ वटा प्लास्टिकका पोकामा ४१८ किलो गाँजा फेला परेको हो।
गाँजासहित पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३, सुनसरीका ३४ वर्षीय थमन राई, मानेभन्ज्याङ गाउँपालिका–५, ओखलढुङ्गाका २२ वर्षीय जीवनी राई, कटहरी गाउँपालिका–३, मोरङका २६ वर्षीय अमर कामत र सोही स्थानका ३८ वर्षीय शंकर चौधरी रहेका छन्।
प्रहरीका अनुसार थमन राई कार चालक हुन् भने जीवनी राई कारमा सवार थिए। अमर कामत मोटरसाइकल चालक र शंकर चौधरी मोटरसाइकलको पछाडि सवार रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जना, बरामद गाँजा तथा दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।