भैरहवा — धार्मिक, प्राकृतिक, सांस्कृति र मनोरञ्जन पर्यटनको सम्भावना बोकेको लुम्बिनी प्रदेशका गन्तव्यको प्रवर्द्धन र व्यावसायिक हितका लागि पर्यटन व्यवसायी एकजुट बनेका छन् । प्रदेशका १२ जिल्ला समेटेर होटल संघ नेपाल, लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, रूपन्देहीका विभिन्न पालिकाका प्रमुख, पर्यटन, उद्योग र व्यावसायिक सरोकारवालाको उपस्थितिमा समिति घोषणा गरिएको हो ।
प्रदेशका जिल्लास्थित पर्यटन गन्तव्य पहिचान गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा तदर्थ समिति घोषणा गरिएको थियो । रूपन्देहीका पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा गठित तदर्थ समितिको वरिष्ठ उपाध्यक्ष बुटवलका प्रवीणबहादुर पाठक, प्रथम उपाध्यक्ष भैरहवाका हरिबहादुर थापा, द्वितीय उपाध्यक्ष बुटवलका अनिलप्रसाद श्रेष्ठ, महासचिवमा टेकनाथ बस्याल रहेका छन् ।
समितिको कोषाध्यक्षमा सुशान्त त्रिपाठी, सचिवमा दिलीप गौचन र सदस्यमा प्रणदा दीक्षित, दाङबाट ओविन्द्र महारा, पाल्पाबाट धीरेन प्रधान र कमल पौडेल, नेपालगन्जबाट गिरीराज पाण्डे, कपिलवस्तुबाट लक्ष्मण भण्डारी, दुर्गा बस्याल, बर्दियाबाट पदमवीर थापा र भैरहवाबाट निर्मल श्रेष्ठ रहेका छन् । प्रमुख सल्लाहाकारमा महेन्द्रनारायण श्रेष्ठ र गोपाल राना रहेका छन् ।