वीरगञ्ज, २३ साउन । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा सम्पन्न वृहत् रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्।
घण्टाघर स्थित स्वर्गीय तिवारी बाबाको सालिक परिसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका युवा सहित सर्वसाधारणले रक्तदान गरेका हुन्। कार्यक्रममा देवनाथ राय, सगुन कुमार सिंह, अफरोज अन्सारी, कृष्णमोहन यादव, सञ्जोग थापा, शक्ति श्रेष्ठ, सहिम राउत गद्दी, राहुल महतो लगायतले रक्तदान गरेका थिए।
राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादवको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, दिनानाथ रौनियार, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, समाजसेवी राजेन्द्र भट्टराई तथा सञ्चारकर्मी लगायतको सहभागिता थियो।
कार्यक्रममा राउन्ड टेबल नेपालका अध्यक्ष मित्तलले रक्तदान विशुद्ध मानवीय सेवाको कार्य भएको बताए। रगतको अभावका कारण उपचारमा समस्या हुने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गरी कसैको जीवन बचाउन योगदान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष यादवले वीरगञ्जमा पछिल्लो दुई महिनादेखि रगतको अभाव देखिँदै आएको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने सम्पूर्ण रक्तदाता प्रति आभार व्यक्त गर्दै मानवीय सेवामा सहयोग गर्ने दुवै संस्थाका सदस्यलाई धन्यवाद दिए।
नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभावका कारण नारायणी अस्पताललगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीको उपचारमा समस्या भइरहेको बताए। यस्तो अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरी मानवीय सेवामा योगदान दिएकोमा उनले राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसप्रति आभार व्यक्त गरे। उनले रगत दान गरी कसैको जीवन बचाउने रक्तदाताहरू समाजका असल नायक भएको उल्लेख गर्दै सबैलाई नियमित रक्तदान गर्न आग्रह गरे।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदा नारायणी अस्पताल लगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई समस्या भइरहेको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेर आयोजक संस्थाले महत्वपूर्ण मानवीय कार्य गरेको बताए।
उनले आफ्नो शरीरको अमूल्य अंशका रूपमा रहेको रगत दान गरेर अरूको जीवन बचाउने रक्तदाताहरू समाजका वास्तविक नायक भएको उल्लेख गर्दै नियमित रक्तदानका लागि सर्वसाधारणलाई आह्वान गरे।
यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका अध्यक्ष वृजकिशोर पटेलले आयोजक संस्था र रक्रदाताहरुलाई धन्यबाद ब्यत गरे । साथै उनले अरु संघ संस्थाहरुलाई पनि रक्रदान कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा स्वयंसेवकको टोलीले रक्तदातालाई रक्तदानमा सहजीकरण गरेको थियो।
आयोजक संस्थाले सामाजिक तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार रक्तदान लगायतका सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।