वीरगंज, २३ साउन । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयले एसईई परीक्षा २०८२ मा ४ जीपीए प्राप्त गर्ने आफ्ना दुई विद्यार्थीलाई ल्यापटप प्रदान गरी सम्मान गरेको छ ।
विद्यालयका आरव कुमार सिंह र आयुशी चौरसियाले एसईई परीक्षामा सुरुमा ३ दशमलव ९७ जीपीए प्राप्त गरेका थिए । तर, पुनः जाँचका लागि निवेदन दिएपछि दुवै विद्यार्थीको अन्तिम नतिजा ४ जीपीए कायम भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा सिंह र चौरसियालाई जनही एक थान ल्यापटप प्रदान गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक परीक्षा पिया लामाले विद्यार्थीको सफलतामा उनीहरूको निरन्तर मेहनतसँगै शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रमा राम्रो नतिजा हासिल गर्दै आएको गौतम माविले यस वर्ष पनि आफ्नो सफलतालाई निरन्तरता दिएको उल्लेख गर्नुभयो ।
सम्मानित विद्यार्थी आरव सिंह र आयुशी चौरसियाले आफूहरूले अध्ययनका क्रममा अपनाएको पढ्ने शैली, समय व्यवस्थापन र मेहनतबारे विद्यालयका कनिष्ठ विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गरेका थिए । उनीहरूले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन तथा शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन जुनियर विद्यार्थीहरूलाई सुझाव दिए ।
विद्यालयका निर्देशक सोनाम लामा, भाइस प्रिन्सिपल ललित कर्ण, प्रशासन प्रमुख रमेश शर्मा लगायतको कार्यक्रममा सहभागिता रहेको अगुवा शिक्षक सौराज प्रधानले जानकारी दिनुभयो ।
# पुनः जाँचपछि ४ जीपीए
एसईईको प्रारम्भिक नतिजामा गौतम माविका दुवै विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरे पनि जीपीए ३ दशमलव ९७ आएको थियो । विद्यालय र विद्यार्थीले अपेक्षा गरेभन्दा कम नतिजा आएपछि परिवार तथा अभिभावकको सहयोगमा पुनर्योग अर्थात् रिटोटलिङका लागि निवेदन दिइएको थियो ।
रिटोटलिङ गर्दा पनि नतिजामा कुनै परिवर्तन नभएपछि दुवै विद्यार्थीले पुनः जाँच अर्थात् रिचेकिङका लागि आवेदन दिएका थिए । नियमित कक्षामा उनीहरूले देखाएको शैक्षिक क्षमता र प्रदर्शनका आधारमा ४ जीपीए आउनेमा विद्यालय विश्वस्त रहेको शिक्षक सौराज प्रधानले बताउनुभयो ।
रिचेकिङका क्रममा निर्धारित प्रक्रियाअनुसार विज्ञ शिक्षकहरूबाट उत्तरपुस्तिका पुनः परीक्षण गरिएको थियो । त्यसपछि दुवै विद्यार्थीको अन्तिम जीपीए ४ कायम भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको विद्यालयको भनाइ छ ।
विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी आत्ममूल्यांकन, आत्मविश्वास, व्यवहारिक ज्ञान र अभ्यासमा समेत सक्षम बनाउने प्रयास गर्दै आएको अभिभावकहरूले बताएका छन् । उनीहरूकै निरन्तर अभ्यास र विद्यालयको शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको अभिभावकहरूको भनाइ छ ।