वीरगञ्ज — पर्सा प्रहरीले ३५ सय लिटर तयारी घरेलु मदिरासहित सवारी साधन र चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार(२०८३ साल साउन २३ गते) दिउँसो करिब १ः४५ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा।प्र।०३–००१ ज १४०२ नम्बरको सवारी साधनलाई जाँच गरेको थियो।
जाँचका क्रममा सवारी साधनमा प्लास्टिकका बोराभित्र लुकाइछिपाइ राखिएको १०८ पोकामा २ हजार २ सय लिटर तयारी घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले मदिरासहित सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, घडिअर्वामा बुझाउने प्रक्रिया अघि बढाएको छ।
यस्तै, सोही अपरेसनका क्रममा दिउँसो करिब ४ बजे वीरगञ्ज महानगरपालिका–१५ स्थित त्रिशुल चोकमा गैरकानुनी रूपमा भण्डारण गरी राखिएको थप ७५ पोकामा १ हजार ३ सय लिटर तयारी घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यस घटनामा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० का २९ वर्षीय मनोज कुमार थिङ, बारा, जितपुर–सिमरा उपमहानगरपालिका–१ की ३५ वर्षीया कोपिला गुरुङ, सोही स्थानकी ३६ वर्षीया रोनु तामाङ र ३३ वर्षीया माया पाख्रिनलाई नियन्त्रणमा लिइएको छ।
दुवै स्थानबाट गरी कुल ३ हजार ५ सय लिटर तयारी घरेलु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।