वीरगञ्ज । डिभिजन वन कार्यालय बाराले आर्थिक वर्ष २०८१/८२ मा उत्पादन गरेका विभिन्न प्रजातिका ५ हजार बिरुवा छिमेकी जिल्ला रौतहट र पर्सामा निःशुल्क पठाएको छ ।
सडक किनार, सार्वजनिक तथा निजी जग्गामा वृक्षारोपण गर्ने उद्देश्यले स्थानीय तहको मागअनुसार बिरुवा उपलब्ध गराइएको डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।
उनका अनुसार रौतहटको परोहा नगरपालिकालाई २ हजार र पर्साको जगरनाथपुर गाउँपालिकालाई ३ हजार बिरुवा पठाइएको हो ।
परोहा नगरपालिकाले सडक किनार तथा सार्वजनिक र निजी जग्गामा वृक्षारोपणका लागि बिरुवा माग गरेको थियो । त्यस्तै, जगरनाथपुर गाउँपालिकाले पनि आफ्नो क्षेत्रका सडक किनार, सार्वजनिक तथा निजी जग्गामा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले बिरुवाको माग गरेको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराका अनुसार बारामा उत्पादन हुने विभिन्न वन प्रजातिका बिरुवाको माग छिमेकी जिल्लाबाट नियमित रूपमा आउने गरेको छ । विशेषगरी बारासँग भौगोलिक रूपमा जोडिएका रौतहटको दक्षिणी भेग तथा पर्साको उत्तरी क्षेत्रमा बाराको वन कार्यालयमा उत्पादन हुने बिरुवाको माग बढी हुने गरेको छ ।
भौगोलिक तथा हावापानीको समानताका कारण बारामा उत्पादन गरिएका विभिन्न वन प्रजातिका बिरुवा छिमेकी जिल्लाका दक्षिणी तथा उत्तरी क्षेत्रमा वृक्षारोपणका लागि उपयुक्त हुने गरेको वन कार्यालयको भनाइ छ । त्यसैले स्थानीय तह, सार्वजनिक निकाय तथा अन्य सरोकारवाला संस्थाले बाराको नर्सरीबाट बिरुवा माग गर्ने गरेका छन् ।
वृक्षारोपणका लागि बिरुवा निःशुल्क उपलब्ध गराउँदा स्थानीय तह तथा समुदायलाई हरियाली विस्तार गर्न सहयोग पुग्नुका साथै सार्वजनिक र निजी जग्गाको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । सडक किनारमा वृक्षारोपण विस्तार हुँदा वातावरण संरक्षण, सौन्दर्यीकरण तथा स्थानीयस्तरमा हरित क्षेत्र विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने वन कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालय बाराले आफ्नो नर्सरीमा उत्पादन भएका बिरुवा जिल्लाभित्र मात्र नभई मागका आधारमा छिमेकी जिल्लामा समेत उपलब्ध गराउँदै आएको छ । यसले वन तथा वातावरण संरक्षणका लागि स्थानीय तहबीच सहकार्य र बिरुवा आदानप्रदानको अभ्यासलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।