२४ साउन, वीरगञ्ज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतीक दैनिकको शनिबार बसेको बैठकले पत्रकारिता क्षेत्रमा गौतमले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार प्रतीक प्रकाशन समूहको ४०औँ वार्षिकोत्सवका अवसरमा आगामी भदौ १ गते आयोजना हुने समारोहमा प्रदान गरिने जनाइएको छ ।
यसैगरी, प्रतीक दैनिकले गत वर्षदेखि प्रदान गर्दै आएको स्वर्गीय चिरञ्जीवी कोइराला पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अर्जुन चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।
पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मी तथा व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले प्रतीक दैनिकले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको जनाएको छ ।
यस वर्ष स्तम्भकार राजेन्द्र कोइरालालाई पनि स्तम्भकार पुरस्कार प्रदान गरिने भएको छ । प्रतीक दैनिकमा नियमित रूपमा स्तम्भ लेखनमार्फत पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई सम्मान गर्न लागिएको जनाइएको छ ।
त्यस्तै, प्रतीक दैनिकका ठोरी संवाददाता चिरञ्जीवी सापकोटा र सहायक मेसिन अपरेटर विजय श्रेष्ठलाई पनि वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिने भएको छ ।
आगामी भदौ १ गते आयोजना हुने ४०औँ वार्षिकोत्सव समारोहमा पुरस्कार तथा सम्मान वितरणसँगै प्रतीक दैनिकको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे समेत चर्चा गरिने जनाइएको छ । प्रतीक दैनिकले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।