२६ साउन, काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाको पश्चिमी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको ज्यान गएको छ। घटनामा ८७ भन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।
कोलम्बियाको काली, परेरा लगायतका प्रमुख सहरहरूमा दर्जनौँ बहुतले आवासीय तथा व्यावसायिक भवनहरू ढल्दा कैयौँ मानिसहरू भग्नावशेषभित्र पुरिएको आशङ्का गरिएको छ ।
प्राकृतिक विपत्ति लगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशभर ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गर्दै उद्धार, राहत तथा पुनर्स्थापना कार्यको कमान्ड आफैँले सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा पर्ने चोको प्रान्तको तातामा राष्ट्रिय निकुञ्जनजिकै जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का छिमेकी देशहरू पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो ।
प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण एक हजार ५७५ भन्दा बढी घरहरूमा क्षति पुगेको छ । जसमध्ये ३७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ६१ वटा ठूला भवनहरू ढलेका छन्। यसैगरी १८ वटा स्वास्थ्य संस्था र ५२ वटा विद्यालयका भवनमा समेत भौतिक क्षति पुगेको जनाइएको छ ।
भूकम्पका कारण विमानस्थलका धावनमार्ग तथा पूर्वाधारहरूमा पुगेको क्षतिको प्राविधिक मूल्याङ्कन गर्न काली, परेरा, मनिजालेस, किब्डो, आर्मेनिया र कार्टागो लगायत कम्तीमा ६ वटा प्रमुख विमानस्थलमा उडान सेवा पूर्ण रूपमा स्थगित गरिएको छ ।
प्रभावित क्षेत्रहरूमा सुरक्षा निकाय र उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै जीवितै रहेकाहरूको खोजी कार्य निरन्तर जारी राखेका छन् ।