२७ साउन, काठमाडौँ । विभिन्न सचेतनामूलक तथा रचनात्मक कार्यक्रमका साथ आज देशभर २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ युवाको भूमिका र उनीहरूको सम्भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित नीति निर्माण, निर्णय प्रक्रियामा युवा सहभागिता वृद्धि, युवामैत्री शासन प्रवर्द्धन तथा सरकारी र गैरसरकारी निकायहरूबिच सहकार्य अभिवृद्धि गर्नु यस दिवसको मुख्य ध्येय रहेको छ ।
दिवसका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहस्थलमा दिउँसो सूचना प्रविधि तथा नवप्रवर्तनशील ‘स्टार्टअप’ व्यवसायसम्बन्धी प्रदर्शनीसमेत सञ्चालन हुनेछ ।
यसअघि बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म ‘युवा जागरण दौड’ (प्रभातफेरी)को आयोजना गरिएको छ । मूल समारोहमा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा विज्ञ तथा सरोकारवालाहरूबिच उच्चस्तरीय प्यानल छलफलसमेत हुने कार्यक्रम छ ।
कार्यक्रमका अवसरमा सूचना प्रविधि तथा नयाँ उद्यम सुरु गरेका उत्कृष्ट ६ वटा व्यवसायलाई ‘स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कार’बाट सम्मानित गरिँदैछ । यसैगरी सातै प्रदेशका उदयीमान युवा उद्यमीहरूलाई पनि राष्ट्रिय स्तरमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा बसेको बैठकले दिवसलाई देशभर भव्य रूपमा मनाउने निर्णय गरेको थियो ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ, जुन कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो ।
मानव जीवनको सबैभन्दा ऊर्जाशील र सिर्जनशील उमेर मानिने युवा वर्गको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न, भौगोलिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्न र प्रविधिजन्य युगमा युवाहरूलाई सशक्त बनाउन यो दिवसले प्रेरणा दिने विश्वास लिइएको छ ।