वीरगन्ज । भारतको राष्ट्रिय भावना तथा देशभक्तिको प्रतीक राष्ट्रगीत ‘वन्दे मातरम्’को रचना भएको १५० वर्ष पूरा भएको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगन्जले मंगलबार विशेष कार्यक्रम आयोजना गरेको छ।
वीरगन्ज स्थित सैनिक ब्यारेकनजिक रहेको क्लासिक बैंक्वेटमा आयोजित कार्यक्रममा ‘वन्दे मातरम्’को १५० वर्षे गौरवशाली यात्रा, यसको ऐतिहासिक तथा सांस्कृतिक महत्व र भारतको राष्ट्रनिर्माणमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो।
कार्यक्रममा ‘वन्दे मातरम्’को सामूहिक गायनसँगै विभिन्न सांस्कृतिक तथा देशभक्तिपूर्ण प्रस्तुति प्रस्तुत गरिएको थियो। चिल्ड्रेन वर्ल्ड माध्यमिक विद्यालय, ज्ञानदा एकेडेमी वीरगन्ज तथा डीएभी आरबी केडिया विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक तथा देशभक्तिपूर्ण कार्यक्रमले सहभागीमा राष्ट्रप्रेमको भावना थप बलियो बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्जका लागि भारतका महावाणिज्यदूत डी. एस. मीनाले ‘वन्दे मातरम्’ एउटा गीत मात्र नभई भारतको स्वतन्त्रता आन्दोलन, राष्ट्रिय एकता, मातृभूमिप्रतिको सम्मान र देशभक्तिको भावनासँग जोडिएको अमूल्य धरोहर भएको बताए।
उनले ‘वन्दे मातरम्’को रचना भएको १५० वर्ष पूरा भएको अवसर नयाँ पुस्तालाई यसको इतिहास, भावनात्मक महत्व तथा राष्ट्रप्रतिको समर्पण बुझाउने महत्वपूर्ण अवसर भएको उल्लेख गरे।
महावाणिज्यदूत मीनाले नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, ज्येष्ठ नागरिक समाजका अध्यक्ष जगदीश शर्मा, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ ईका जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफ, लायन राधेश्याम खेतान, लायन राजकुमार सिन्धी, लायन पिया सिंह, लायन गुड्डी जोशीलगायत उद्योगपति, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उपस्थिति थियो।
भारत विकास परिषद् शाखा–रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शीले बधाई सन्देशमार्फत देशबाहिर आयोजना हुने यस्ता कार्यक्रमले भारतीय समुदायसँगै स्थानीय नागरिकलाई समेत भारतको गौरवशाली परम्परा र देशभक्तिको भावनाबारे जानकारी गराउने बताए। उनले यस्ता कार्यक्रमले नेपाल–भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले ‘वन्दे मातरम्’मा निहित राष्ट्रप्रेम, राष्ट्रिय एकता तथा मातृभूमिप्रतिको समर्पणको भावनालाई आत्मसात् गर्दै नेपाल र भारतबीच कायम सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन भारतको महावाणिज्य दूतावास, वीरगन्जका वाणिज्यदूत मनीष दासले गरेका थिए। विभिन्न सांस्कृतिक तथा देशभक्तिपूर्ण प्रस्तुति सहित कार्यक्रम उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।