जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु, अपराध नियन्त्रण गर्नु, अवैध कारोबार रोक्नु तथा बालविवाहलगायतका सामाजिक कुरीति नियन्त्रण गर्नु प्रहरीको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एसपी भट्टराईले नागरिकको जीउधन, स्वतन्त्रता र मानवअधिकारको रक्षा गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्न नागरिकसँग हातेमालो गरेर अघि बढ्ने बताए ।
उनले राज्यले सुम्पिएको जिम्मेवारी, नेपालको संविधान, प्रहरी ऐन तथा प्रहरी नियमावलीले नेपाल प्रहरीलाई तोकेका जिम्मेवारीका साथै समयसापेक्ष रूपमा नागरिकले अपेक्षा गरेका कानुनप्रदत्त कामहरू इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि नागरिक समाजसँग समेत सहकार्य र समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो ।
पर्साका तत्कालीन प्रहरी उपरीक्षक सुदीपराज पाठक समयअगावै सरुवा भएपछि भट्टराईले जिल्लाको प्रहरी कमान्ड सम्हालेका हुन्
अन्तरक्रिया कार्यक्रममा पर्सेली पत्रकारहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै एसपी भट्टराईले कानुन कार्यान्वयनका क्रममा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले पर्सामा सामाजिक कुरीतिका रूपमा रहेका बालविवाह र बहुविवाहका घटनालाई पनि प्राथमिकताका साथ नियन्त्रण गर्ने बताए ।
बालविवाह तथा अन्य सामाजिक कुरीति नियन्त्रणका लागि प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भन्दै उनले नागरिकलाई समेत सक्रिय र अग्रसर गराएर अभियानका रूपमा अघि बढ्ने बताए ।
कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षकहरू चन्द्रबहादुर मल्ल र राजु कार्कीलगायत नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघका पूर्वसचिव दीपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल तथा पत्रकार अनिल तिवारी, आनन्द पटेल लगायतले विभिन्न विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
पत्रकारहरूले सीमावर्ती क्षेत्रमा हुने तस्करी, हुण्डी कारोबार, क्यासिनोमा नेपालीको प्रवेश, राजमार्गमा हुने अवैध असुली, लागूऔषधको प्रयोग तथा ओसारपसारलगायतका विषयमा प्रहरी उपरीक्षक भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
एसपी भट्टराईले पत्रकारहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै कानुनविपरीत हुने कुनै पनि गतिविधिमाथि आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।