वीरगन्ज, २९ साउन। वीरगन्जमा रगतको अभाव भइरहेको खबर सुनेपछि चितवनबाट परीक्षा दिन आएका युवासहित १९ जनाले सामूहिक रक्तदान गरेका छन्।
केही महिनायता वीरगन्जमा रक्तदान कार्यक्रम घट्दा नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएको थियो। रगत अभावका कारण अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउनसमेत समस्या भइरहेको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएको थियो।
सोही जानकारी पाएपछि चितवनबाट ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको परीक्षा दिन वीरगन्ज आएका युवाहरूले बिहीबार घण्टाघरस्थित रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन्। उनीहरूसहित विभिन्न क्षेत्रका १९ जना युवाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।
रक्तदान गर्नेमा चितवनको माडीका हरि न्यौपाने, विपिन पाठक, भरतपुरका पत्रकार राजु चौधरी तथा वीरगन्जका सन्दीप विक्रम साह, राजकुमार कुशवाहा र श्वेता राईलगायत रहेका छन्।
विश्व रक्तदाता संगठन नेपालका कार्यक्रम संयोजकसमेत रहेका हरि न्यौपानेले परीक्षा दिन वीरगन्ज आएका बेला रगत अभावको खबर थाहा पाएपछि साथीहरूसँग मिलेर रक्तदान गरेको बताए। उनले मानवीय सेवाको भावनाले तत्कालै रक्त सञ्चार केन्द्रमै पुगेर रक्तदान गरेको जानकारी दिए।
माडीका विपिन पाठकले आफूले बिहीबार २७औँ पटक रक्तदान गरेको बताए। काम विशेषले वीरगन्ज आएका बेला रगत अभावको समाचार सुनेपछि साथीहरूसँग मिलेर तत्काल रक्तदान कार्यक्रम आयोजना गरिएको र १९ जना रक्तदाताले रक्तदान गरेको उनले बताए।
“रक्तदानबाट बिरामीको उपचारमा थोरै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले रक्तदान गरेका हौँ,” पाठकले भने।