वीरगन्ज, ३० साउन । वीरगन्ज महानगरपालिकाले शहरलाई हराभरा, स्वच्छ, सुन्दर तथा वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ। महानगरपालिकाले शनिबार बिहान नयाँ बसपार्क परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले बढ्दो शहरीकरणसँगै वातावरणमा परेको असर न्यूनीकरण गर्न वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए।
उनका अनुसार वीरगन्जमा बढ्दो गर्मी, वायु प्रदूषण तथा अन्य वातावरणीय चुनौती कम गर्न महानगरपालिकाले हरियाली विस्तारलाई प्राथमिकतामा राखेको छ। बिरुवा रोप्नु मात्रै पर्याप्त नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह पनि उत्तिकै आवश्यक रहेको उनले बताए।
आलमले वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन महानगरवासी, महानगर प्रहरी, कर्मचारी, स्थानीय संघसंस्था तथा नागरिक समाजको सहकार्य आवश्यक रहेको उल्लेख गरे। सार्वजनिक स्थान, सडक किनार, बसपार्क तथा खुला क्षेत्रमा रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन उनले सम्बन्धित पक्षलाई आग्रह गरे।
हरियाली विस्तारले शहरको सौन्दर्य बढाउनुका साथै वातावरणीय सन्तुलन कायम गर्न र नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
वीरगन्जलाई हराभरा, स्वच्छ र वातावरणमैत्री महानगरका रूपमा विकास गर्ने लक्ष्यसहित आगामी दिनमा पनि वृक्षारोपण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता आलमले व्यक्त गरे।
कार्यक्रममा महानगरपालिकाका कर्मचारी, महानगर प्रहरी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।