३० साउन,काठमाडौं । भारतले आज ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । सन् १९४७ अगस्ट १५ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएको स्मरणमा भारतले हरेक वर्ष अगस्ट १५ लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले भारतको स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदान स्मरण गर्दै देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री मोदीले शनिबार नै दिल्लीस्थित ऐतिहासिक लालकिल्लाबाट राष्ट्रिय झण्डा फहराउने र राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । योसँगै मोदीले लालकिल्लाबाट लगातार १३औँ पटक स्वतन्त्रता दिवसको सम्बोधन गर्नेछन् ।
यस वर्षको समारोहमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वर्षगाँठलाई विशेष महत्व दिइएको छ । पहिलोपटक लालकिल्लाबाट ‘वन्दे मातरम्’ सामूहिक रूपमा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । साथै ‘विकसित भारत–२०४७’ निर्माणमा युवाशक्तिको भूमिकालाई समेत समारोहमा प्राथमिकताका साथ प्रस्तुत गरिनेछ ।
समारोहमा भारतीय सेना, नौसेना, वायुसेना र दिल्ली प्रहरीका सुरक्षाकर्मीले प्रधानमन्त्रीलाई गार्ड अफ अनर दिनेछन् । राष्ट्रिय झण्डा फहराउने क्रममा २१ तोपको सलामी दिइने कार्यक्रमसमेत रहेको छ ।
समारोहमा सेना, नौसेना र वायुसेनाका करिब २ हजार ५ सय छात्रछात्रा तथा ‘माइ भारत’का स्वयंसेवक सहभागी हुनेछन् । उनीहरूले ज्ञानपथमा बसेर ‘वन्दे मातरम्’ शब्दको आकृति बनाउनेछन् ।
स्वतन्त्रता दिवस समारोहमा विभिन्न क्षेत्रका करिब ५ हजार विशेष अतिथिलाई निमन्त्रणा गरिएको छ । महिला उद्यमी, सरसफाइ कर्मचारी, सडक व्यापारी, युवा नवप्रवर्तक, वैज्ञानिक, स्टार्टअप संस्थापक, कलाकार, किसान, विद्यार्थी तथा सरकारी योजनाका लाभग्राहीसमेत समारोहमा सहभागी हुनेछन् ।