बीरगन्ज, ३० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय सरकारले आवश्यक नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मधेश प्रदेशको पर्यटन सम्भावना, पूर्वाधारको अवस्था तथा पर्यटन क्षेत्रका समस्या र चुनौतीबारे स्थलगत अध्ययनका क्रममा निकुञ्ज पुग्नुभएका मन्त्री पौडेलले निकुञ्जका अधिकारी, जनप्रतिनिधि, पर्यटन व्यवसायी र अन्य सरोकारवालासँग छलफल गर्नुभएको हो।
छलफलमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र पौडेलले प्राकृतिक तथा पर्यटकीय सम्भावना पर्याप्त भए पनि पूर्वाधार, प्रचारप्रसार र लगानीको अभावमा अपेक्षित पर्यटक भित्र्याउन नसकिएको बताउनुभयो। सरकारी लगानी न्यून हुनुका साथै केही नीतिगत जटिलताले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नसमेत कठिनाइ भइरहेको उहाँको भनाइ थियो।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले पर्सा र चितवन राष्ट्रिय निकुञ्जको पर्यटकीय सम्भावना समान रहे पनि चितवनको सौराहाले जस्तो पूर्वाधार र प्रचारप्रसारको सुविधा पर्साले पाउन नसकेको बताउनुभयो। मनहरीबाट पर्सा राष्ट्रिय निकुञ्ज जोड्ने सडकको अभाव तथा निकुञ्जभित्र पानीको समस्या पर्यटन विकासका प्रमुख अवरोध रहेको उहाँले उल्लेख गर्नुभयो।
पर्सा क्षेत्र नम्बर १ का सांसद तथा होटल व्यवसायी हरि पन्तले वीरगञ्जसँगै जोडिएको निकुञ्जलाई पर्यापर्यटनको आकर्षक गन्तव्य बनाउन सकिने बताउनुभयो। पर्याप्त सफारी गाडी, पर्यटकीय पूर्वाधार र पर्यटकमैत्री सेवा सुविधाको अभावले भने सम्भावनाअनुसार पर्यटक आकर्षित हुन नसकेको उहाँले बताउनुभयो।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले निकुञ्जमा सफारी सञ्चालनका लागि आवश्यक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो। लोथरसम्म विस्तार हुन लागेको पेट्रोलियम पाइपलाइनसँगै निकुञ्ज क्षेत्रमा पानी पुर्याउने पाइपलाइन विस्तार गर्न सकिने सम्भावनातर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।
सरोकारवालाका सुझाव सुनेपछि मन्त्री पौडेलले पर्सा राष्ट्रिय निकुञ्जको पर्यटकीय सम्भावनालाई अपेक्षाअनुसार उपयोग गर्न नसकिएको स्वीकार गर्नुभयो। बारा, पर्सा, रौतहट र मकवानपुर गरी चार जिल्लामा फैलिएको मधेश प्रदेशको एकमात्र राष्ट्रिय निकुञ्ज सरकारी प्राथमिकतामा पर्याप्त रूपमा पर्न नसक्दा पर्यटन विकासमा पछि परेको उहाँले बताउनुभयो।
निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। पूर्वाधार निर्माण, निजी लगानीका लागि अनुकूल वातावरण तथा प्रभावकारी प्रचारप्रसारलाई प्राथमिकता दिँदै पर्सा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने उहाँले बताउनुभयो।
भारतसँगको सीमाक्षेत्र नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुको महत्वपूर्ण बासस्थान भए पनि पर्याप्त पर्यटकीय पूर्वाधार र प्रचारप्रसारको अभावमा विदेशी तथा भारतीय पर्यटकलाई अपेक्षित रूपमा आकर्षित गर्न सकेको छैन। पर्सा हुँदै चितवनको सौराहा जाने भारतीय पर्यटकलाई निकुञ्जसम्म आकर्षित गर्न सडक, सफारी, आवास तथा अन्य पर्यटकीय सुविधा विस्तारसँगै प्रभावकारी पर्यटन प्रवद्र्धन आवश्यक देखिएको छ।