इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकाले मृतकको सख्या अझै बढ्न सक्ने सम्भावना छ। स्थानीय समयअनुसार शनिबार बिहान करिब ५:०० बजे फ्लोरेस टापुलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प १५ किलोमिटर गहिराइमा मापन गरिएको थियो। भूकम्पका कारण सयौं भौतिक संरचना ध्वस्त भएका छन् भने दर्जनौं मानिस घाइते भएका छन्।
पूर्वी नुसा तेंगारा प्रान्तका गभर्नर इम्यानुएल मेल्कियाडेस लाका लेनाका अनुसार अधिकांश मानिसको सुतिरहेकै अवस्थामा घर भत्किँदा पुरिएर मृत्यु भएको हो। हालसम्म मंगराईमा २४, पूर्वी मंगराईमा १७, सिक्कामा ३ तथा ङाडा, एन्डे र पश्चिम मंगराईमा १–१ जनाको शव फेला परेको छ।
सिक्का प्रान्तका बासिन्दा आर्नोल्ड वेलियान्टोले अत्यधिक कडा धक्का महसुस भएपछि मानिसहरू आत्तिएर घरबाहिर निस्किएको बताए। पराकम्पको डरले सर्वसाधारण घर फर्कन नसकी खुला आकाशमुनि बसिरहेका छन्।
माउमेरे बन्दरगाहमा यात्रुहरू डुंगा चढ्ने पर्खाइमा छँदा भवनका ठूला सिमेन्टका टुक्राहरू खसेका थिए। डुंगा चढ्ने बाटो भत्किँदा केही यात्रु समुद्रमा खसेका थिए।
भूकम्पलगत्तै समुद्रको पानी अस्वाभाविक रूपमा पछाडि हटेपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका थिए। सुनामीको त्रासका कारण करिब २ हजारभन्दा बढी सर्वसाधारण डाँडा तथा उच्च भूभागतिर भागेका थिए। यद्यपि, समुद्रको सतहमा खासै परिवर्तन नदेखिएपछि करिब तीन घण्टैपछि सुनामीको चेतावनी हटाइएको थियो।
भूकम्प र त्यसपछिका दर्जनौं पराकम्पका कारण १ सय ५० भन्दा बढी घरहरू पूर्णरूपमा ध्वस्त भएका छन्। यसका साथै दर्जनौं विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल र सरकारी कार्यालयहरूमा क्षति पुगेको छ। भूकम्पलगत्तै ६.१ म्याग्निच्युडको पराकम्प र पछि उत्तरी सुमात्रामा ६.४ म्याग्निच्युडको अर्को भूकम्प समेत दर्ता गरिएको छ।
भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी भएकाले क्षतिको पूर्णविवरण आउन समय लाग्ने बताइएको छ। विपद् एजेन्सीले प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत सामग्री पठाउन सुरु गरिएको र सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ। तीन वटा मुख्य टेक्टोनिक प्लेटको संगमस्थलमा रहेको इन्डोनेसिया भूकम्प र ज्वालामुखीको दृष्टिले अत्यधिक जोखिमयुक्त मानिन्छ।