काठमाडौँ,०१ भदौ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। परम्पराअनुसार बिहानैदेखि घरको मूलढोकामा नागको तस्वीर टाँसेर विधिपूर्वक पूजा गर्ने तथा दूध, अक्षता, फूललगायत सामग्री चढाउने क्रम जारी छ।
यस वर्ष जेठमा अधिकमास परेकाले सौरमासअनुसार नागपञ्चमी भदौको पहिलो दिन परेको हो। धार्मिक विश्वासअनुसार घरको मूलढोकामा नागको तस्वीर राखी पूजा गर्दा नाग, सर्प तथा बिच्छीलगायतका जीवबाट हुने भयबाट जोगिनुका साथै आगलागी, वर्षा र चट्याङको जोखिमबाट समेत सुरक्षा मिल्ने मान्यता छ।
नागपूजाको परम्परा वैदिक कालदेखि चलिआएको मानिन्छ। धार्मिक मान्यतामा नागलाई सर्पका राजा तथा जल र प्रकृतिसँग जोडिएको शक्तिका रूपमा लिइन्छ। पानीको सन्तुलन कायम राख्ने विश्वासका कारण नागलाई प्रसन्न पार्न पूजा गर्ने चलन बसेको संस्कृतिविद्हरू बताउँछन्।
सनातन परम्परामा नागको सम्बन्ध भगवान् शिव र विष्णुसँग समेत जोडिएको छ। शिवले नागलाई आभूषणका रूपमा धारण गर्ने तथा विष्णु शेषनागको शय्यामा शयन गर्ने धार्मिक कथन छ। गणेश, लक्ष्मण र बलरामसँग पनि नागको सम्बन्ध रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ।
नागपञ्चमीसँग सम्बन्धित विभिन्न किंवदन्ती पनि प्रचलित छन्। त्यसमध्ये एक कथाअनुसार किसानले खेत खन्दा नागका बच्चा मरेपछि नागिनीले किसानको परिवारलाई नष्ट गरेकी थिइन्। किसानकी छोरीले नागिनीको विधिपूर्वक पूजा गरी दूध चढाएर प्रसन्न पारेपछि उनले मृत परिवारलाई पुनर्जीवन दिएको विश्वास गरिन्छ। यही घटनाको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा सुरु भएको जनविश्वास छ।
प्राकृतिक दृष्टिले पनि सर्पलगायतका जीवले पारिस्थितिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्राचीन ऋषिमुनिहरूले नागपूजाको परम्परा सुरु गरेको मान्यता छ। सर्पले मुसा तथा अन्य हानिकारक जीवको संख्या नियन्त्रण गर्न योगदान पुर्याउने भएकाले वातावरणीय सन्तुलनमा समेत यसको महत्व रहेको छ।
नागपञ्चमीको अवसरमा आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा भक्तजनको भीड लागेको छ। नागपञ्चमीसँगै नेपाली सनातन परम्पराका विभिन्न चाडपर्वको मुख्य याम सुरु हुने मान्यता पनि रहिआएको छ।