काठमाडौँ,०१ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास र पश्चिमतर्फ सरदरभन्दा केही उत्तर, नेपाल नजिक रहेको छ।
महाशाखाका अनुसार पश्चिम नेपालका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत क्षेत्रमा पछिल्लो समय अत्यधिक वर्षा भएको छ। स्याङ्जा र नवलपुरमा समेत उल्लेख्य वर्षा मापन गरिएको विभागले जनाएको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो तराई क्षेत्र तथा मधेस प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिम नेपालमा भने वर्षा थप सक्रिय हुने देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तथा मधेस प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।