वीरगन्ज,०१ भदौ । धान रोपाइँ र बाली व्यवस्थापनका लागि रासायनिक मलको माग बढिरहेका बेला वीरगन्ज नाकाबाट साउन महिनामा ११ हजार ७१५ टन युरिया र डिएपी मल नेपाल भित्रिएको छ। मलको अभाव झेलिरहेका किसानलाई नयाँ खेपको आगमनले केही राहत पुग्ने अपेक्षा गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार कन्साइन्मेन्ट नम्बर १५४ अन्तर्गत ५ हजार ४३१ टन डिएपी मल वीरगन्जस्थित कम्पनीको गोदाममा भण्डारण गरिएको छ। भारतको इन्डियन पोटास लिमिटेड (आईपीएल) ले तेस्रो मुलुकबाट ल्याएको उक्त मल वीरगन्ज नाकाबाट नेपाल आएको हो।
त्यस्तै, कन्साइन्मेन्ट नम्बर १५५ अन्तर्गत ५ हजार १११ टन युरिया मल पनि वीरगन्ज आइपुगेको छ। उक्त मल आदित्य बिर्ला कम्पनीले ग्लोबल टेन्डरमार्फत ल्याएको हो। यसअघि कन्साइन्मेन्ट नम्बर १५३ अन्तर्गत सन इन्टरनेसनल कम्पनीले ल्याएको थप १ हजार १७३ टन युरिया पनि वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा भण्डारण गरिएको छ।
कम्पनीका अनुसार तीनवटै कन्साइन्मेन्टबाट हालसम्म ११ हजार ७१५ टन मल नेपाल भित्रिएको हो। यी कन्साइन्मेन्टअन्तर्गत थप मल पनि क्रमशः भित्रिने क्रममा रहेको छ। प्रत्येक कन्साइन्मेन्टबाट ३० हजार टनका दरले मल ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ।
मल बोकेका रेल्वे र्याक भारतको सीमावर्ती सहर रक्सौलस्थित रेल्वे स्टेसन तथा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा आइरहेका छन्। वीरगन्ज नाकाबाट भित्रिएको मल कृषि सामग्री कम्पनीका वीरगन्ज, भैरहवा र विराटनगरस्थित प्रादेशिक कार्यालयमा वितरण गरिनेछ। भैरहवा प्रादेशिक कार्यालयले प्राप्त गर्ने अधिकांश मलसमेत वीरगन्ज नाकाबाटै आपूर्ति हुने गरेको कम्पनीले जनाएको छ।
धान रोपाइँ तथा बाली व्यवस्थापनको मुख्य समयमा किसानले मागअनुसार मल पाउन नसकेको गुनासो गरिरहेका छन्। यही समयमा ठूलो परिमाणमा युरिया र डिएपी भित्रिन थालेकाले मल आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार बाँकी परिमाणका मलसमेत क्रमशः नेपाल भित्र्याएर आवश्यकताअनुसार विभिन्न जिल्लामा वितरण गरिनेछ।