१ भदौ,वीरगञ्ज । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यताबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको मन्त्रालयका मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ । कार्यदललाई कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको छ ।
खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे कार्यदलले अध्ययन गर्नेछ ।
कार्यदलले अध्ययन पूरा गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सीडीई श्रीकान्त यादव रहेका छन् । सदस्यमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि छन् ।
कार्यदलले कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोगिताबारे समेत अध्ययन गर्नेछ । पुराना संरचना तथा मेसिनरीको प्रयोगबाट कारखाना पुनः सञ्चालन गर्न सकिने अवस्था छ कि नयाँ प्रविधि र संरचना आवश्यक पर्छ भन्ने विषय पनि अध्ययनको दायरामा राखिएको छ ।
यस्तै, वीरगन्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गरिने भएको छ । सम्पत्तिसँग सम्बन्धित समस्या पहिचान गरी समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्प तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ ।
सरकारले लामो समयदेखि बन्द रहेको कारखानालाई पुनः सञ्चालन गर्न सकिने सम्भावना, आवश्यक लगानी, संरचनागत अवस्था र व्यवस्थापकीय चुनौती पहिचान गरी त्यसका आधारमा आगामी निर्णय लिने तयारी गरेको छ ।