पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले निर्वाचन क्षेत्रमा देखिएका सामान्य तर जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या समाधान गर्न नसकिएको विषय संसद्मा उठाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले निर्वाचन क्षेत्रमा जाँदा स्थानीयवासीले आफ्ना समस्या समाधानका लागि सांसदसँग अपेक्षा राख्ने गरेको भए पनि आवश्यक स्रोत र बजेटको अभावमा ती समस्या समाधान गर्न नसकिएको बताए।‘हामी आफ्नो निर्वाचन क्षेत्रमा जाँदा त्यहाँका स्थानीयहरूले हामीलाई अनेकौँ समस्याहरू देखाउँछन् र हामीबाट ती समस्याहरूको समाधानको आशा पनि राख्छन्, जुन जायज पनि हो,’ उनले सदनमा भने।
पन्तका अनुसार स्थानीय तहसँग सीमित बजेट र जनशक्ति भए पनि सामान्य पहल र न्यून खर्चबाटै समाधान गर्न सकिने कतिपय समस्या लामो समयसम्म थाती रहने गरेका छन्। यसको प्रत्यक्ष असर सर्वसाधारणसँगै बालबालिकामा समेत परेको उनले बताए।
वर्षायाममा सडकमा पानी जमेर दह बन्ने समस्या उल्लेख गर्दै पन्तले त्यस्ता ठाउँमा दुई–चार ट्र्याक्टर ग्राभेल हालेरसमेत तत्काल समस्या समाधान गर्न सकिने बताए। तर सामान्य मर्मतसम्भारसमेत नहुँदा वर्षाका बेला कतिपय बालबालिका विद्यालय जानसमेत कठिनाइ भोग्न बाध्य रहेको उनको भनाइ थियो।
त्यस्तै, विद्यालयमा पर्याप्त डेस्क–बेन्च नहुँदा विद्यार्थीहरू भुइँमा बसेर पढ्नुपर्ने अवस्था रहेको र कतिपय कक्षाकोठामा पंखाको व्यवस्था नहुँदा गर्मीका कारण विद्यार्थी बेहोस हुने अवस्थासमेत देखिएको पन्तले संसद्मा बताए।
‘कहिँ स्कुल गएका बच्चाहरू कक्षा कोठामा दुई–चार थान डेस्क–बेन्चसमेत नहुँदा भुइँमा बसेर पढ्नुपर्ने पीडा छ। कहिँ कक्षा कोठामा दुई–चार थान पंखा नहुँदा बच्चाहरू गर्मीले कक्षामै बेहोस भएका घटनाहरू पनि छन्,’ उनले भने।
निर्वाचन क्षेत्रका यस्ता साना तर तत्काल समाधान गर्नुपर्ने समस्यामा खर्च गर्न सांसदसँग कुनै स्रोत वा कोष नहुँदा आफूहरू असहाय बन्ने गरेको पन्तले बताए।‘हामी सांसदहरूसँग त्यस्तो कुनै स्रोत र कोष नहुँदा आफ्ना क्षेत्रका ती सानातिना समस्यासमेत समाधान गर्न नसकेर टुलुटुलु हेरेर फर्किनुसिबाय अर्को कुनै विकल्प हुँदैन,’ उनले भने।
पन्तले विगतमा रहेको संसदीय विकास कोषको दुरुपयोग नभएको भए अहिले त्यसलाई सही र पारदर्शी ढङ्गले प्रयोग गर्न सकिने धारणा पनि राखे। उद्देश्य सही भए पनि गलत पात्र र प्रवृत्तिका कारण कतिपय व्यवस्था नै विवादित बन्न पुगेको उनको भनाइ थियो।
उनले निर्वाचन क्षेत्रमा देखिने तत्काल समाधान गर्नुपर्ने समस्याका लागि स्थानीय तहको क्षमता अभिवृद्धिसँगै आवश्यक स्रोत व्यवस्थापनमा समेत सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
सांसद पन्तको अभिव्यक्तिले निर्वाचन क्षेत्रका सामान्य समस्या समाधानमा स्थानीय तहको भूमिका, सांसदको सीमितता र विकासका लागि आवश्यक स्रोत व्यवस्थापनबारे संसद्मा बहसको विषय उठाएको छ। पन्त पर्सा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।