बीरगंज । वीरगंजबाट सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) को संख्या पछिल्लो समय ह्वात्तै बढेको छ। यातायात व्यवस्था कार्यालय वीरगंजमा मात्रै ५ सयभन्दा बढी ईभी दर्ता भइसकेका छन्। यात्रुको चाप र आवश्यकताको अध्ययनबिनै राजस्व असुलीलाई प्राथमिकता दिँदै ईभीको दर्ता सीमा बढाइएको भन्दै व्यवसायीहरूले आक्रोश व्यक्त गर्न थालेका छन्।
ईभीको संख्या अत्यधिक बढेपछि एउटै गाडीमा ४–५ जना यात्रु मात्रै लिएर सञ्चालन गर्नुपर्ने अवस्था आएको एक व्यवसायीले गुनासो गरे। ऋण लिएर ईभी खरिद गरी स्वरोजगार बन्न खोजेका व्यवसायीलाई लगानीको लागत उठाउनसमेत कठिन हुन थालेको उनको भनाइ छ।
वीरगंज–भरतपुर, वीरगंज–काठमाडौंलगायत रुटमा सञ्चालन हुने ईभी, टाटा सुमो, यात्रुवाहक बस तथा रात्रि बसको कारोबार संकटमा रहेका बेला अस्वस्थ प्रतिस्पर्धा थप बढेको व्यवसायीहरूको भनाइ छ। यस्तो प्रतिस्पर्धाले सबै प्रकारका यातायात व्यवसायीलाई प्रभावित बनाएको उनीहरूको गुनासो छ।
गत वर्ष वैशाख २२ गते पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवालाबीच बसेको संयुक्त बैठकले सार्वजनिक यातायात व्यवस्थापनसँग सम्बन्धित केही महत्वपूर्ण निर्णय गरेको थियो। तर, ती निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा यात्रुलाई सेवा दिने नाममा अव्यवस्था र अराजकता बढेको व्यवसायीहरूले आरोप लगाएका छन्।
बैठकले सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा नयाँ बसपार्क टर्मिनलभित्रबाट सञ्चालन गर्ने, बसपार्क बाहिर रहेका अवैध टिकट काउन्टर बन्द गर्ने तथा बसपार्क क्षेत्रमा हुने अनावश्यक भीडभाड नियन्त्रण गर्ने निर्णय गरेको थियो। यात्रुको झोला तान्ने तथा अभद्र व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्ने र वीरगंजबाट काठमाडौंका लागि छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेसम्म काउन्टरबाट प्रस्थान गरिसक्नुपर्ने निर्णयसमेत गरिएको थियो।
तर, निर्णय भएको लामो समय बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै व्यवसायीहरूले प्रशासनमाथि प्रश्न उठाएका छन्।
“संघीय सरकारले कमिटमेन्ट गर्ने तर इम्प्लिमेन्ट नगर्ने जुन प्रवृत्ति देखिएको छ, त्यही प्रवृत्ति स्थानीय प्रशासनमा पनि देखिन थालेको छ,” एक व्यवसायीले भने।
व्यवसायीहरूका अनुसार कुनै समय दैनिक तीनवटा रात्रि बस सञ्चालन गर्ने व्यवसायी अहिले दुई दिनमा मुस्किलले एउटा गाडी सञ्चालन गर्नुपर्ने अवस्थामा पुगेका छन्। सञ्चालन खर्चसमेत उठाउन कठिन भइरहेको र बैंकको किस्ता तिर्न झन् समस्या भएको उनीहरूको गुनासो छ।
“अवस्था यस्तै रह्यो भने बस व्यवसायीहरू निकै ठूलो संकटमा पुग्ने स्थिति छ,” एक व्यवसायीले भने। त्यस्तै, दिवा सेवाका सवारीसाधनहरू बेलुका ७ बजेसम्म सञ्चालन हुने गरेकाले वीरगंजका होटल व्यवसायमा समेत प्रत्यक्ष असर परेको होटल व्यवसायीहरूको भनाइ छ। यात्रुहरू साँझसम्म वीरगंजमै रहने अवस्था कम हुँदा होटल तथा अन्य व्यवसायमा समेत असर परेको उनीहरूको दाबी छ।
निर्णय गर्ने तर त्यसको कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण यातायात क्षेत्रमा व्यवस्थित प्रणाली निर्माण हुनुको सट्टा बेथिति झन् बढ्दै गएको देखिन्छ। पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएका बैठकका निर्णय कार्यान्वयन नहुने र त्यसको जवाफदेहिता कसैले नलिने हो भने यस्ता बैठक र निर्णयको औचित्यमाथि नै प्रश्न उठ्ने व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले यातायात क्षेत्रमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, यात्रुको चापअनुसार सवारीसाधन व्यवस्थापन तथा विगतका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि पर्सा प्रशासनले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।