तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा स्थानीयवासीले थालेको आन्दोलनले दोस्रो दिन पनि निरन्तरता पाएको छ। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने माग राख्दै वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका छन्।
सडक अवरोधका कारण वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको यातायात सेवा प्रभावित भएको छ। मुख्य सडकमा सवारी आवागमन रोकिँदा सयौँ सवारीसाधन तथा यात्रु बाटोमै अलपत्र परेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी बालिका गरिमा साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। परिवारले तत्काल प्रहरीलाई जानकारी गराउनुका साथै शङ्कास्पद व्यक्तिविरुद्ध किटानी जाहेरीसमेत दिएको थियो। तर प्रहरीले खोजीमा गम्भीरता नदेखाएको पीडित परिवार तथा स्थानीयको आरोप छ।
मङ्गलबार साँझ स्थानीयवासीले घरनजिकै रहेको सुनसान भवनबाट दुर्गन्ध आएपछि खोजी गर्दा बालिकाको अर्धनग्न शव फेला पारेका थिए। शव फेला परेपछि मात्रै प्रहरी सक्रिय भएको र जाहेरीमा नाम उल्लेख भएका दुई जनालाई नियन्त्रणमा लिएको स्थानीयको भनाइ छ।
प्रहरीको ढिलासुस्ती र लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्। उनीहरूले घटनामा प्रहरी नेतृत्वको समेत जिम्मेवारी रहेको भन्दै डीएसपी क्षेत्रीमाथि तत्काल कारबाहीको माग गरेका छन्।
सडक अवरोध खुलाउने विषयमा जिल्ला प्रशासन र आन्दोलनरत पक्षबीच बुधबार रातिसम्म पटक–पटक वार्ता भए पनि सहमति जुट्न सकेन। आन्दोलनकारीले डीएसपी निलम्बनलाई नै वार्ताको मुख्य सर्त बनाएपछि छलफल निष्कर्षविहीन बनेको हो।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले डीएसपीलाई निलम्बन गर्ने माग जिल्ला प्रशासनको अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताए।
“बुधबार राति ११ बजेसम्म भएको छलफलमा उहाँहरूले डीएसपी सा’बलाई निलम्बन गर्नुपर्ने अडान राख्नुभयो। उहाँहरूको माग जिल्ला तहको अधिकार क्षेत्रभन्दा बाहिरको विषय हो,” भट्टराईले भने।
प्रशासनले वार्तामार्फत समस्या समाधान गरी सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ। तर स्थानीयवासीले भने आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।
वीरगञ्ज–पथलैया सडकखण्ड लामो समय अवरुद्ध हुँदा औद्योगिक तथा व्यापारिक गतिविधिमा समेत असर परेको छ। सडकमा सवारीसाधनको लामो लाइन लागेपछि यात्रु तथा व्यवसायी थप समस्यामा परेका छन्।