काठमाडौं । भन्सार मालवस्तुको पूर्व आगामन सूचना आदान प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो समझदारी पत्रमा हस्ताक्षर गरिएको भन्सार विभागले जानकारी दिएको छ ।
यस समझदारी पत्रमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको हो । माल्दिभ्समा आयोजित एसएएसईसीको १४ औं सबग्रुप मिटिङका अवसरमा समझदारी पत्रमा चार देशका भन्सार प्रशासकहरूले हस्ताक्षर गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
विभागका अनुसार समझदारी पत्रको मुख्य उद्देश्य सदस्य राष्ट्रहरुबीच वस्तुहरूको पूर्व आगमन सूचना आदान प्रदान गर्नु रहेको छ । यसबाट मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै उपलब्ध सूचनाको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न सहज हुनेछ ।
यसले भन्सार नियन्त्रणलाई थप प्रभावकारी बनाउन तथा छिटो र सहज रुपमा वस्तु जाँचपास गर्न सहयोग पुग्ने विभागले जनाएको छ । यसबाट व्यापारिक प्रक्रियामा लाग्ने समय र लागत घटाउँदै वैदेशिक व्यापारलाई थप सहज, पारदर्शी र पूर्वानूमानयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा विभागको छ ।
यसअघि नेपाल र भारतबीच यस्तै समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । गत माघ पहिलो साता भारतको नयाँदिल्लीमा भन्सार विभाग र भारतीय केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
दुवै देशको भन्सार प्रशासनबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने तथा निकासी हुने वस्तु आगमनपूर्व तथ्यांक आदान–प्रदानबाट जोखिम विश्लेषण मार्फत जोखिम देखिएका वस्तुलाई निगरानी तथा नियमन गर्न सहज हुने अपेक्षा दुबै देशले लिएका छन्।
त्यस्तै सही कारोबार गर्ने व्यवसायीलाई थप सहजीकरण गरी भन्सार जाँचपास छिटो, छरितो र सहज बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ । वस्तु आगमनपूर्व सूचना आदान–प्रदान गर्दै जोखिम व्यवस्थापन मार्फत व्यापार सहजीकरण गर्न प्रमुख व्यापारिक साझेदार मुलुकबीच निकासी गरिने वस्तुको अग्रिम तथ्यांक आदान–प्रदान गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहँदै आएको छ ।