टाटा मोटर्सको नयाँ पुस्ताको व्यावसायिक पिकअप ‘टाटा योद्धा २.० बीएस–६’ वीरगञ्जमा सार्वजनिक गरिएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिहीबार वीरगञ्जमा कार्यक्रम आयोजना गरी नयाँ मोडल बजारमा ल्याएको हो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी, वित्तीय संस्था तथा सिप्रदी ट्रेडिङका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा सुरज फिस सप्लायर्सका सञ्चालक एवं सञ्चारकर्मी अजय साह, ओम्नी फाइनान्सका महाप्रबन्धक बासु तिमलसिनालगायतको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस युनिटका बिक्री प्रमुख कृष्णचन्द्रले गरेका थिए। कार्यक्रममा कम्पनीका प्रमुख प्रबन्धक रामेश्वर घिमिरे, पिकअप उत्पादन व्यवस्थापक सञ्जय तामाङ तथा वीरगञ्ज शाखा प्रमुख एवं प्रमुख प्रबन्धक सन्दीप गुप्ता कानुलगायत सहभागी थिए।
पिकअप उत्पादन व्यवस्थापक तामाङका अनुसार योद्धा २.० बीएस–६ मा २ हजार १७९ सीसीको बीएस–६ इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले १०० हर्सपावर शक्ति र २५० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
नयाँ पिकअपमा २ टनसम्म भारवहन क्षमता रहेको छ। बलियो च्यासिस, उन्नत गियरबक्स तथा इको र नर्मल मोडसहितको मल्टी–ड्राइभ प्रणाली यसको प्रमुख विशेषता रहेको कम्पनीको भनाइ छ। सडक तथा भारअनुसार ड्राइभिङ मोड परिवर्तन गर्न सकिने भएकाले व्यावसायिक प्रयोजनमा यसको उपयोगिता बढ्ने कम्पनीले जनाएको छ।
योद्धा २.० मा एसयूभी शैलीको बाहिरी डिजाइनसँगै पछाडिको पार्किङ सेन्सरसमेत राखिएको छ। सामान ढुवानीका लागि ८.९ फिट लम्बाइ र ६ फिट चौडाइको भारवहन क्षेत्र उपलब्ध रहेको जनाइएको छ।
कम्पनीका अनुसार नयाँ पिकअप विशेषगरी अन्तरसहर सामान ढुवानीलाई लक्षित गरी ल्याइएको हो। फलफूल तथा तरकारी, माछा, पशुचौपाया, दैनिक उपभोग्य वस्तु, हार्डवेयर तथा अन्य व्यावसायिक सामग्री ढुवानीमा यसको प्रयोग गर्न सकिनेछ।
कार्यक्रममा नयाँ मोडलको प्राविधिक क्षमता, भारवहन क्षमता तथा व्यावसायिक उपयोगिताबारे जानकारी दिइएको थियो। टाटा मोटर्सले ‘टाटा योद्धा नेभर स्टप्स’ अवधारणासहित यो मोडललाई बजारमा प्रस्तुत गरेको जनाएको छ।
वीरगञ्जमा योद्धा २.० बीएस–६ को सार्वजनिकसँगै व्यावसायिक सवारी बजारमा नयाँ विकल्प थपिएको छ। बीएस–६ प्रविधि, उच्च भारवहन क्षमता र आधुनिक सुविधासहितको यो पिकअपले व्यावसायिक ढुवानी क्षेत्रमा आफ्नो बजार विस्तार गर्ने कम्पनीको अपेक्षा छ।