४ भदौ, वीरगञ्ज । बलात्कारजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्डको सजाय हुने कानुनी व्यवस्था गर्न जेनजी पर्साले सरकारसँग माग गरेको छ ।
जेनजी पर्साले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै बलात्कार तथा महिला हिंसाका घटनामा संलग्नलाई कडा कानुनी कारबाहीको व्यवस्था गर्न माग गरेको हो ।
जेनजी पर्साका संयोजक महादेव प्रसाद कुर्मीले दुई तिहाइ बहुमतको सरकार रहेको अवस्थामा तत्काल द्रुत मार्गबाट संविधान संशोधन गरी बलात्कारजस्तो जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्नुपर्ने बताए ।
ज्ञापनपत्रमा हालै बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न पनि माग गरिएको छ ।
जेनजी पर्साले महिला तथा बालिकामाथि हुने हिंसा र यौनजन्य अपराध नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । साथै, पर्साका सार्वजनिक स्थल, विद्यालय तथा कार्यक्षेत्रमा महिला, किशोरी र बालिकाको सुरक्षाका लागि नियमित सुरक्षा गस्ती तथा निगरानी बढाउन प्रशासनसँग आग्रह गरेको छ ।
महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जेनजी पर्साको भनाइ छ ।
ज्ञापनपत्र बुझाउने क्रममा जेनजी पर्साका प्रतिनिधिहरूले बलात्कार तथा महिला हिंसाका घटनामा दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र पीडितलाई तत्काल न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।

