चितवन, ८ भदौ । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा पक्राउ परेका एक किशोरको प्रहरी हिरासतमा रहेको अवस्थाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रोटोकलमाथि प्रश्न उठेको छ।
मुलुकी अपराध संहिताले अपराधका घटनामा पीडितसँगै अभियोग लागेका व्यक्तिको गोपनीयताको विषयलाई समेत सम्बोधन गरेको छ। तर, बाराको उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको हातमा हतकडी लगाइएको अवस्थामा दुई प्रहरीको उपस्थितिमै भिडियो खिचिएर सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।
भिडियोमा किशोरलाई घटनासम्बन्धी विभिन्न प्रश्न सोधिएको देखिन्छ। अपराध अनुसन्धानसँग सम्बन्धित संवेदनशील विषयलाई सार्वजनिक हुने गरी प्रश्न गरिएको भन्दै सामाजिक सञ्जालमा समेत यसको आलोचना भइरहेको छ।
यद्यपि, उक्त भिडियो कुनै सञ्चारमाध्यमका पत्रकारले खिचेको नभई पक्राउपछि स्वास्थ्य परीक्षणका क्रममा अस्पताल लैजाँदा चिकित्सकहरूले प्रश्न सोध्ने क्रममा खिचिएको प्रहरीको भनाइ छ।
बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार पक्राउपछि मेडिकल जाँचका लागि अस्पताल लैजाँदा दुई जना ड्युटी अफिसर किशोरसँगै थिए। सो क्रममा चिकित्सकहरूले प्रश्न सोधेका थिए र त्यही समयको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको उनले बताए।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भने भिडियो सार्वजनिक हुनु प्रहरीको अनुसन्धान प्रोटोकलविपरीत भएको स्वीकार गरेका छन्।
संवेदनशील प्रकृतिका मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका अडियो तथा भिडियो प्रहरीले सार्वजनिक नगर्ने स्पष्ट गर्दै उनले अभियुक्तलाई सार्वजनिक गर्दा समेत सामान्यतः मुख छोप्ने व्यवस्था रहेको बताए।
“यस्तो भिडियो सार्वजनिक गर्न मिल्दै मिल्दैन । यो हाम्रो प्रोटोकलको उल्लंघन हो,” उनले भने।
प्रवक्ता काफ्लेका अनुसार आइतबार नै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको जानकारी पाएपछि मधेश प्रदेश प्रहरी प्रमुखमार्फत घटनाबारे जिल्लासँग जानकारी लिने काम भइरहेको छ। प्रहरी प्रधान कार्यालयले समेत छुट्टै टोली बनाएर भिडियो कसरी सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको उनले बताए।
यस घटनाले अनुसन्धानका क्रममा अभियुक्तको गोपनीयता, प्रहरीको हिरासत व्यवस्थापन तथा संवेदनशील प्रमाण र भिडियोको सुरक्षा प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाएको छ।