वीरगञ्ज । उपभोक्तालाई सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले वीरगञ्जमा खाद्य ल्याब भ्यानसहितको संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा सरसफाइमा लापरबाही गर्ने व्यवसायीलाई जरिवाना गर्नुका साथै अखाद्य अवस्थामा राखिएका खाद्य सामग्री र क्षतिग्रस्त पानीका जार नष्ट गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंको खाद्य ल्याब भ्यानसहितको टोलीले शनिबार वीरगञ्जका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो। टोलीले खाद्य पदार्थको गुणस्तर, भण्डारण अवस्था, उत्पादनस्थलको सरसफाइ, कच्चा पदार्थको अवस्था तथा खाद्य स्वच्छता मापदण्डको पालनाबारे स्थलगत निरीक्षण गरेको थियो।
वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित न्यू अंशु स्वीट्स एन्ड फास्ट फुड मा अनुगमन गर्दा सरसफाइको अवस्था सन्तोषजनक नपाइएको टोलीले जनाएको छ। अखबारले छोपेर राखिएको करिब २ किलो खुवा, करिब २ किलो पेढा तथा म्याद गुज्रिएका फ्लेभर्स र रङका दुई डब्बा फेला परेका थिए। ती सामग्री जफत गरी नष्ट गरिएको छ। व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको छ।
रानीघाटकै सोनु स्वीट्स मा पनि सरसफाइको अवस्था कमजोर पाइएको थियो। पत्रपत्रिकाले छोपेर राखिएको करिब ६ किलो मिठाई फेला परेपछि जफत गरी नष्ट गरिएको छ। व्यवसायीलाई ५ हजार रुपैयाँ जरिवाना गर्दै मिठाई उत्पादनस्थल तथा समग्र सरसफाइमा सुधार गरी सात दिनभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र सुधार नगरे पसल सिल गरी थप कारबाही गर्ने चेतावनी दिइएको छ।
त्यस्तै, रानीघाट–१० स्थित बोलबम प्योर ड्रिङ्किङ उद्योग मा आवश्यक पूर्वाधार र सरसफाइ व्यवस्थित नगरी खाद्य स्वच्छता मापदण्डविपरीत उद्योग सञ्चालन गरेको पाइएपछि पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य निरीक्षक श्रवण साहले जानकारी दिए। उद्योगलाई सात दिनभित्र आवश्यक पूर्वाधार र सरसफाइको व्यवस्था गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरगञ्जलाई जानकारी गराउन निर्देशन दिइएको छ।
आदर्शनगर–१० स्थित रियल–मी मिनरल वाटर उद्योग मा अनुगमन गर्दा मिनी प्रयोगशाला नभएको, कुचिएका जार प्रयोग भइरहेको तथा कामदारको व्यक्तिगत सरसफाइमा समेत कमजोरी देखिएको टोलीले जनाएको छ। उद्योगलाई मिनी ल्याबको व्यवस्था गर्न, कुचिएका जार प्रयोग नगर्न तथा व्यक्तिगत र उद्योगको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। अनुगमनका क्रममा १९ वटा कुचिएका खाली जार नष्ट गरिएको छ।
आदर्शनगर–१० स्थित द हङ्ग्री आइसक्रिम लाई पनि खाद्य स्वच्छता तथा मापदण्ड पालना नगरेको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य निरीक्षक श्रवण साहले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने तथा खाद्य स्वच्छता मापदण्ड उल्लंघन गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने गरी बजार अनुगमनलाई निरन्तरता दिइने बताए।
अनुगमनका क्रममा पसल तथा क्यान्टिनको सरसफाइ, भान्साको अवस्था, खाद्य सामग्रीको भण्डारण, प्रयोग हुने कच्चा पदार्थ, उत्पादन तथा बिक्रीका लागि राखिएका खाद्य पदार्थको गुणस्तर र खाद्य स्वच्छता मापदण्डको पालनालगायत विषयमा निरीक्षण गरिएको थियो।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य ल्याब भ्यान, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पत्रकार तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता थियो।
खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गर्ने व्यवसायीमाथि कारबाहीसँगै नियमित अनुगमनलाई प्रभावकारी बनाउने हो भने उपभोक्ताको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने देखिन्छ। उपभोक्ताले पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, म्याद, लेबल, प्याकेजिङ तथा सरसफाइजस्ता विषयमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।